६ असोज बाँके । नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाडी जिल्लाबाट आयात हुने गरेको छ ।भन्सारमा कडाइ भएपछि अहिले नेपालगन्जमा पहाडी जिल्लामा उत्पादन भएको तरकारीले बजार पाएको नेपालगन्जस्थित रानी तलाउ कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताए ।उनका अनुसार, जेठदेखि मङ्सिरसम्मको अवधिमा स्थानीय बजारमा खपत हुने कुल तरकारीमध्ये करिब ८० प्रतिशत तरकारी सल्यान, रुकुम, रोल्पा र दाङलगायतका छिमेकी पहाडी तथा भित्री मधेसका जिल्लामा उत्पादन भएको हुन्छ । बाँकी २० प्रतिशत मात्र भारतीय तथा अन्य क्षेत्रबाट आउने तरकारीले बजारको माग धान्ने गर्छ ।हरेक बिहान सबेरै सल्यान, रुकुम, रोल्पा र दाङबाट दर्जनभन्दा बढी मालवाहक गाडी ताजा तरकारी बोकेर रानी तलाउ आइपुग्ने अध्यक्ष मोतिसराले बताए ।

पहाडी जिल्लाबाट दैनिकजसो गोलभेडा, बन्दा, काउली, भान्टा, सिमी, खुर्सानी, लौका, करेला, बोडी र काँक्रो आउने गरेको उनले जानकारी दिए ।सीमा नाकामा अवैध रूपमा भित्रिने तरकारीमा कडाइ गरिएपछि स्वदेशी उत्पादनको माग र खपत ह्वात्तै बढेको छ । गत वर्षको तुलनामा यस वर्ष पहाडी जिल्लाबाट आउने तरकारीको परिमाणमा उल्लेख्य वृद्धि भएको अध्यक्ष मोतिसराको भनाइ छ ।