आजदेखि हलमा तीन नेपाली फिल्म

आजदेखि हलमा तीन नेपाली फिल्म

२ आश्विन काठमाडौं– आजबाट हलमा तीन नयाँ फिल्म थपिएका छन् ।ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको बहुप्रतीक्षित ‘झिंगेदाउ–२’, जितु नेपाल स्टारर ‘कार्की साइँला’ र प्रेमकथामा आधारित ‘माया बस्छ कि के हो ’ आजदेखि प्रदर्शनमा आएका हुन् ।तीनमध्ये ‘झिंगेदाउ–२’ र ‘कार्की साइँला’ ले तुलनात्मक रूपमा राम्रो शो पाएका छन् भने सीमित हलमा लागेको ‘माया बस्छ कि के हो’ को शो भने न्यून छ । अब दर्शकको रोजाइमा कुन फिल्म पर्छ भन्ने चासो बढेको छ ।चार वर्षअघि हिट भएको ‘झिंगेदाउ’ को सिक्वेल भएकाले ‘झिंगे दाउ–२’ प्रति सुरुदेखि नै दर्शकको चासो छ ।

पारिवारिक कथामा बनेको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट र आर्यन सिग्देल लगायतको अभिनय छ । परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्मको लेखन गोविन्द फुयाँल र शिशिर चालिसेले गरेका हुन् ।त्यस्तै, राजेन्द्र बस्नेत निर्देशित ‘कार्की साइँला’ मा जितु नेपाल र प्रियना आचार्य मुख्य भूमिकामा छन् । फिल्मले भारी बोक्ने भरियाको जीवन, गाउँमा हुने हेपाइ र दोस्रो विवाहको विषयलाई कथाको केन्द्रमा राखेको छ ।उता ‘माया बस्छ कि के हो’ ले अध्ययन तथा रोजगारीका लागि युरोप पुगेका युवायुवतीबीचको प्रेम, समर्पण र मतभेदलाई पर्दामा उतारेको छ। राजु अधिकारी निर्देशित फिल्ममा सोनाल लामा र कस्मता निरौला मुख्य भूमिकामा छन् ।