विधान मिचेर गरिने महाधिवेशन मान्य हुँदैन : प्रकाशमान सिंह

विधान मिचेर गरिने महाधिवेशन मान्य हुँदैन : प्रकाशमान सिंह

२ आश्विन काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र परम्परालाई लत्याएर गरिने कुनै पनि गतिविधि मान्य नहुने बताएका छन् ।२९ औं गणेशमान सिंह स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र विधिको शासन र आन्तरिक लोकतन्त्र कमजोर पार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाए । पार्टीभित्र देखिएको पछिल्लो विवाद र महाधिवेशनका सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै उनले कांग्रेस विधान र संविधानको दायराभित्रै रहेर अघि बढ्नुपर्नेमा जोड दिए ।

१४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै विधिसम्मत रूपमा १५ औं महाधिवेशन गराउनुपर्ने उनको अडान छ ।‘नेपाली कांग्रेस पार्टी विधिको शासन स्थापित गर्नका लागि जन्मिएको हो, तर पार्टीभित्रै विधिको शासनलाई तोडमोड गर्दा चुप लागेर बस्न सकिँदैन,’ नेता सिंहले भने, ‘विधानलाई मिचेर जबर्जस्ती विशेष महाधिवेशन गरी अघि बढ्न खोज्नु गलत हो । यस्ता अलोकतान्त्रिक अभ्यासले पार्टीभित्र अधिनायकवाद जन्माउँछ ।’पछि कतिपय नेताहरू व्यक्तिगत सुविधा र पदका लागि पञ्चायत प्रवेश गरे पनि बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरूले सिद्धान्त र निष्ठाको राजनीति नछोडेको उनले उल्लेख गरे ।