२ असोज काठमाडौं । सन् १९९७ मा कार दुर्घटनामा दिवंगत भएकी राजकुमारी डायनाका भाइले राजा चार्ल्स तृतीयले उनकी बहिनीको निधनपछि निर्दयी व्यवहार गरेको आरोप लगाएपछि बेलायती राजदरबार बकिंघम प्यालेसले त्यसको खण्डन गरेको छ ।डायनाका भाइ अर्ल चार्ल्स स्पेन्सरले राजामाथि लगाएका विभिन्न आरोपमध्ये यो पछिल्लो आरोप हो । यो विवादले बिहीबार राजा चार्ल्सको एउटा सार्वजनिक कार्यक्रमलाई समेत छायामा पारेको बताइएको छ ।

डायनाका भाइ अर्ल स्पेन्सरले ‘डेली मेल’ पत्रिकामा धारावाहिक रूपमा प्रकाशित भइरहेको आफ्नो नयाँ पुस्तकमा डायनाको ३६ वर्षको उमेरमा निधन भएको केही दिनपछि चार्ल्सले आफूलाई रिसको झोंकमा फोन गरेर ‘ढुक्क हुनुहोस्, हामी उहाँलाई चाँडै बिर्सिनेछौँ’ भनेको आरोप लगाएका छन् ।सन् १९९७ मा डायनाको निधन हुनुअघि चार्ल्स र डायनाबीच सम्बन्धविच्छेद भएको थियो । पेरिसमा भएको त्यो रातिको दुर्घटनाअघि नै राजा चार्ल्स र अर्ल स्पेन्सरबीचको सम्बन्ध निकै बिग्रिसकेको थियो ।आउँदो साता पूर्ण रूपमा प्रकाशित हुन लागेको आफ्नो पुस्तक ‘स्वान सङः डायना, माइ सिस्टर’मा स्पेन्सरले सन् १९९७ सेप्टेम्बर ६ मा आफ्नी दिदीको विशाल सार्वजनिक अन्त्येष्टि र्यालीमा तत्कालीन १५ र १२ वर्षका राजकुमार विलियम र ह्यारीलाई पैदल नहिँडाउन आफूले आग्रह गरेको दाबी दोहोर्याएका छन् ।