३१ भदौ काठमान्डौ । दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका १० जना स्थानीय तहका जनप्रतिनिधिको पद निर्वाचन आयोगले रिक्त भएको घोषणा गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन तथा नियमावलीअनुसार उनीहरूको पद रिक्त भएको जनाएको हो ।पद रिक्त हुनेमा कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी पनि छन् । गिरी तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । उनी रास्वपा प्रवेश गरेका छन् । यस्तै, खोटाङको बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई पनि पदमुक्त भएका छन् ।

धनुषाको शहीदनगर नगरपालिका– ८ का वडाध्यक्ष तनुकलाल कुसियत, विदेह नगरपालिका– ६ का वडाध्यक्ष जयराम मण्डल, कमला नगरपालिका– ५ का वडाध्यक्ष शीवा पासवान र मिथिला नगरपालिका– २ का वडाध्यक्ष बिहारी महतो कोइरीको पद रिक्त भएको छ ।त्यस्तै, खोटाङको केपिलासगढी गाउँपालिका– ३ का वडाध्यक्ष तुलाराम राई, डोलखाको जिरी नगरपालिका– ६ का वडाध्यक्ष मारिजबहादुर खड्का र वडा नम्बर ३ का वडाध्यक्ष खेटराज घिमिरे तथा मोरङको धनपालथान गाउँपालिका– ५ का वडाध्यक्ष गयानन्द सरदारको पदसमेत रिक्त भएको आयोगले जनाएको छ ।पद रिक्त भएका १० जना नै २०७९ सालको निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट विजयी भएका थिए ।राजनीतिक दलसम्बन्धी कानुनअनुसार कुनै दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले निर्वाचित भएको दल त्याग गरेमा पद रिक्त हुने व्यवस्था छ ।