१६ भदौ काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा सम्पर्कविहीन भएका कर्मचारी तथा प्राविधिकको उद्धारमा ढिलाइ भएको भन्दै आफन्तहरूले दबाबमूलक अभियान चलाएका छन्।
सम्पर्कविहीन प्राविधिक तथा कर्मचारीका आफन्तहरूले मगलबार आयोजनाको निर्माण कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनीमा गएर यथाशीघ्र उद्धार गर्न दबाब दिएका हुन्।काँकडभिट्टाका कृष्ण खरेलले बाढी गएको सातौँ दिनपछि बल्ल उद्धार कार्य सुरु गरिएको भन्दै आक्रोश व्यक्त गरे। आयोजनामा फसेका नागरिकमाथि राज्य र निर्माण कम्पनीले पशुवत् व्यवहार गरेको आरोप उनले लगाए।आयोजनाको कार्यालय बाढीले बगाएकाले सम्पर्कविहीन कर्मचारीको यकिन तथ्यांक नरहेको जानकारी दिँदै निर्माण कम्पनीले संवेदनहीन व्यवहार गरेको उनको भनाइ छ। आफन्तको खोजी आफैँ गर्न खोज्दा सरकारले अनुमति नदिएको र सरकार स्वयंले समेत उद्धार नगरेको उनले बताए।