१४ भदौ काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बाढीपहिरो लगायत विपदमा ज्यान गुमाएका र पहिचान खुल्न बाँकी रहेका शवहरू हतारमा व्यवस्थापन नगर्न सरकारलाई आग्रह गरेका छन् ।भोटेकोशी लगायतका क्षेत्रमा आएको विपद्मा मृत्यु भएकाहरूको पहिचान नजानी दाहसंस्कार वा गाड्ने कार्य भइरहेको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा। भट्टराईले पीडित परिवारसँग पर्याप्त परामर्श र वैज्ञानिक पहिचानबिना शव व्यवस्थापन गरिनु न्यायोचित नभएको बताए ।शव गृह मर्चरीको अभाव भए शीत गृह वा युद्धस्तरमा अल्पकालीन मर्चरीको व्यवस्था गरेर भए पनि पहिचान प्रक्रियालाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।खोजी तथा उद्धार जारी रहँदा आफन्तजन आफ्ना मान्छेको पर्खाइमा रहेको उल्लेख गर्दै उनले सरकारलाई संवेदनशील र पारदर्शी बन्न आग्रह गरे ।