८ भदौ जनकपुर । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्याका मुख्य आरोपीसँग सोधपुछ गरिएको एउटा भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरसहितका प्रहरी अधिकारी कारबाहीको राडारमा परेका छन् ।हातमा हतकडी लगाइएका १६ वर्षीय आरोपीसँग अस्पतालमा गरिएको सोधपुछको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।बाराको जितपुर सिमरा उपमहानगरपालिका १ दसधुरीकी ३ वर्षीया गरिमाको हत्या गरेको आरोपीले स्वीकार गरेका छन् । प्रदीप खड्का नाम गरेका साथीसँग मिलेर आफूले यो दुष्कर्म गरेको उनको भनाइ छ । भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले घटनाबारे चासो देखाएका हुन् ।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कुँवर र डीएसपी मीनबहादुर घलेसँग समेत सोधपुछ थालिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार संवेदनशील आपराधिक घटनाको अनुसन्धानका क्रममा तयार भएका अडिओ भिडिओ कसरी सामाजिक सञ्जालसम्म पुगे भन्ने विषयमा साइबर ब्युरोले डिजिटल ट्रेक अनुसन्धान गरिरहेको छ । भाइरल भिडियोमा हातमा हतकडी लगाइएका किशोरसँगै दुई जना प्रहरी देखिएका छन् । अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले प्रश्न गरिरहेको अवस्थामा भिडिओ बनाइएको दावी गरिएको छ ।
भिडिओ सार्वजनिक गर्ने व्यक्ति मात्र नभई निजलाई भिडिओ कसले उपलब्ध गरायो भन्ने श्रृंखलासमेत पत्ता लगाउने गरी अनुसन्धान अघि बढाइएको स्रोतको दाबी छ । प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयबाट समेत घटनाबारे छुट्टाछुट्टै रूपमा बुझ्ने काम भइरहेको स्रोतले बतायो ।