२ भदौ काठमाडौं। अमेरिकी टेलिभिजन सिरिज ‘हिरोज’ र ‘न्यासभिल’मा अभिनय गरेकी चर्चित अभिनेत्री हेडन प्यानेटियरको ३६ वर्षको उमेरमा निधन भएको छ।उनका पिता स्किप प्यानेटियरले एक विज्ञप्ति जारी गर्दै अभिनेत्रीको निधन भएको पुष्टि गरेका छन्।
बीबीसीसहित अन्य सञ्चारमाध्यमलाई दिएको बयानमा स्किपले भने, ‘हामी अत्यन्त दुःखका साथ हाम्री प्यारी हेडनको निधनको खबर साझा गरिरहेका छौँ।’उनले हेडन असाधारण प्रतिभाकी धनी अभिनेत्री रहेको बताउँदै उनका वरपरका मानिसहरू तथा पर्दामा उनलाई हेर्ने लाखौँ दर्शकको जीवनमा उनले प्रेम र खुसी भरेको उल्लेख गरे।हेडनको मृत्युको कारणबारे भने अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन। उनको निधनको खबरपछि हलिउड तथा उनका प्रशंसकमाझ शोक छाएको छ।हेडन प्यानेटियरले टेलिभिजन सिरिज ‘हिरोज’ मा अलौकिक शक्ति भएकी चियरलिडरको भूमिका निर्वाह गरेपछि विशेष पहिचान बनाएकी थिइन्।