२८ साउन काठमान्डौं । फिल्म गौंथली ले बक्स अफिसमा उत्साहजनक प्रदर्शनलाई निरन्तरता दिएको छ। प्रदर्शनको करिब १ महिना पुग्न लाग्दा पनि फिल्ममा दर्शक अकुपेन्सी उत्साहजनक छ।
अरूण क्षेत्री र सिम्रन खड्का अभिनीत यो फिल्म साउन १ गतेदेखि प्रदर्शनमा आएको थियो। यहाँसम्म आउँदा यसले थुप्रै फिल्मको लाइफटाइम कमाइलाई समेत पछि पारेको छ।यसैबीच, बिहीबार दिउँसोसम्म आउँदा गौंथली इतिहासकै दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ। यसले कबड्डी ४को २१ करोड ४० लाख रूपैयाँको कमाइलाई पछि पार्दै यो रेकर्ड बनाएको हो। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको २६ वर्षका ३१ ब्लबकस्टर फिल्मको सूचीमा कबड्डी ४ को कमाइ २१ करोड ४० लाख उल्लेख थियो।
चलचित्र विकास बोर्डको ‘सिनेपा बक्स अफिस’मा बिहीबार दिउँसो १ बजेसम्म गौंथली ले २१ करोड ४२ लाख २१ हजार रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ।बक्स अफिस स्रोतका अनुसार उक्त कमाइ हुँदा फिल्मको ७ लाख ८८ हजार ७ सयभन्दा बढी टिकट बिक्री भएका छन्।हालसम्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान पूर्णबहादुरको सारंगीुको नाममा छ। यसले ४६ करोड ८७ लाख ४१ हजार रूपैयाँ कमाएको थियो।यसअघि गौंथलीले छक्का पञ्जाका विभिन्न श्रृंखला, जेरी अन टप , जारी . परान र १२ गाउँजस्ता फिल्मको कमाइलाई पनि उछिनेको थियो।आगामी सोमबार सार्वजनिक हुने बोर्डको अद्यावधिक विवरणमा फिल्मको कुल कमाइ २३ करोड रूपैयाँभन्दा माथि पुग्ने अनुमान गरिएको छ। व्यापारिक गति कायम रहेकाले फिल्मले २५ करोड रूपैयाँभन्दा माथिको व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको छ।डा.भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको गौंथलीुमा अरूण र सिम्रन मुख्य भूमिकामा छन्। साथमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय छ।