२४ साउन कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर ६५ वर्षीय किरण सिंह सम्पर्कबिहीन छन्।उनी सवार लु,प्र,०१०१३ प ७९७० नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो पूर्वपश्चिम राजमार्ग भन्दा अन्दाजी ८ किलोमिटर भित्र जंगलमा रोकेर राखेको अवस्थामा फेला परेको थियो।उनको मोटरसाइकल फेला परेको गोरुसिङ्गे जंगल क्षेत्रमा शुक्रबार बेलुकादेखि नै प्रहरी र स्थानीयले मिलेर खोजी गरिरहेका छन्।नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका उनी अघिल्लोपटक कपिलवस्तुका मेयर थिए।
यो जंगल क्षेत्र कपिलवस्तु र अर्घाखाँचीको सीमाना क्षेत्र पनि हो। जिल्लाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार शनिबार पनि ८० बढी नेपाल प्रहरी खोजीमा खटिएका छन्।स्थानीय समेत गरी १०० बढी मानिस पूर्वमेयर सिंहको खोजीमा खटिएका छन्।प्रहरी सहितको टोलीले गएराति मध्य रातिसम्म उनको खोजी गरेको भए पनि फेला पार्न सकेको थिएन।प्रहरीका अनुसार उनी शुक्रबार बिहान कपिलवस्तु नगरपालिका – ३ स्थित घरबाट फर्ममा जान भनेर निस्किएका थिए।