माता पिता र गुरुमा नम:
(वसन्ततिलका)
=========
सम्पूज्यका विनयले पद पुज्नुपर्छ
यी देव वा गुरु हुनन् अब बुझ्नुपर्छ
बेचेर आज सबथोक दियो जलाए
बिर्सेर पीर मनका बहुतै रमाए ॥१
हाम्रा अनेक सपना विपना बनाई
छोडेर छाप गतिलो भव तर्नलाई
न्यानो छ प्रेम यिनको अब पुज्न पाऊँ
मातापिता र गुरुका गह पुछ्न पाऊँ ॥२
बाँडेर ज्ञान गहिरो नव आँकुरामा
पोखेर धेर पसिना अब पालुवामा
प्यारो छ काख जननी अब बुझ्नुपर्छ
मातापिता अवनि हुन् सब पुज्नुपर्छ ॥३
बोलेर भाव रसिला जब पोख्न थाल्छ्न्
हाँसेर मस्त गतिमा पद चाल्न थाल्छ्न्
यो धर्म हो सकलको गुरु पूज्य मानौँ
सारा धरा र जगका प्रिय व्यक्ति मानौँ ॥४
=======
निर्मला शर्मा (निरु)
बाँके – कोहलपुर
हाल गुलरिया – बर्दिया