१८ जेठ दैलेख । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको बोलेरो जिप सोमबार दैलेखको भैरवी गाउँपालिकामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।भैरवी गाउँपालिका–७ कालीगौडास्थित भित्री सडक खण्डमा सु.प.०१–००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो दुर्घटनामा परेको हो ।
गुडिरहेको गाडी एक्कासि ब्रेक फेल भई सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी सन्तोष रोकायका अनुसार दुर्घटनामा परी कालिकोटको शुभकालिका गाउँपालिका–५ का ३६ वर्षीय चालक कलबहादुर रोकाय, सोही गाउँपालिका वडा नं। ४ का ३९ वर्षीय मित्र सुनार र वडा नं। ६ की ६० वर्षीया पुल्तिसरा विकको ज्यान गएको हो । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।दुर्घटनामा अन्य पाँच जना यात्रु गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा कालिकोट शुभकालिका गाउँपालिकाका चक्र सुनार, भरत विक, कलम सुनार, सुमत विक र नैन सुनार रहेका छन्। घाइतेमध्ये सुमत र नैनको अवस्था जटिल रहेकाले उनीहरूलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।