शनिबार,२३ अषाढ २०८०
बर्दिया
बर्दियाबाट नेतृत्व गर्ने बढैयाताल टुडे दैनिक पत्रिकाका प्रकाशक सम्पादक कृष्ण भण्डारीलाई नमुना कन्ट्रक्शनका प्रोपराइटर अमर भण्डारीले गरेकाे गालीगलाैज बिरूद्व नेपाल पत्रकार महासंघ बर्दिया शाखा र नेपाल प्रेस युनियन बर्दिया शाखाले प्रेस बिज्ञप्ती निकालेकाे छ ।
नगरपालिकाले स्टक गरेकाे भन्ने प्रमाणित नभएकाे ढुङ्गा गिट्टी र बालुवा ओसार पोसार भइरहेको समाचार सामाजिक संजाल बढैयाताल टुडे अपडेटमा प्रकाशित भएलगत्तै उक्त विषयलाई लिएर नमुना कन्ट्रक्शनका प्रोपराइटर भण्डारीले सम्पादक भण्डारीलाई गालीगलौज गरि प्रेस स्वतन्त्रता माथि नै प्रहार गरेपछि महासंघ र युनियनले उक्त विषय प्रति ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ती जारी गरेको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले जारी गरेको विज्ञप्तीमा सम्पादक भण्डारी माथि समाचारको विषयलाई लिएर निर्माण व्यवसायी अमर भण्डारीले दिएको गालीगलाैज प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तीमा यस धम्कीपूर्ण घटनाको निन्दा र खेद प्रकट गरिएको छ । घटनाले प्रेस स्वतन्त्रता माथि प्रहार गरेको र समाचार प्रति चित्त नबुझे न्यायका लागि अनेक कानुनी बाटाहरू भएकोले पत्रकारमाथि हुने कुनैपनि निन्दनीय घटना कहीँकतैबाट नदाेहाेर्याउन नेपाल पत्रकार महासंघ बर्दियाले आग्रह गरेको व्यहोरा समेत उल्लेख गरिएको छ ।
यसैगरी नेपाल प्रेस युनियनले जारी गरेको बिज्ञप्तीमा मधुवन नगरपालिका वडा नं.४ महुवा गाउँमा थुपारेर राखेको नदीजन्य पदार्थ ढुंगागिट्टी नगरपालिकाबाट स्टक प्रमाणित नगरी ढुवानी गरिरहेको भन्ने विषयमा समाचार लेखेको प्रति प्रोपराइटर भण्डारीले गालीगलाैज तथा दुर्व्यवहार जन्य कार्य गरेकोमा सो कार्यको घाेर भत्सर्ना उल्लेख गरिएको छ ।
युनियनले जारी गरेको विज्ञप्तीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारको रक्षकको भूमिका खेल्दै आइरहेको पत्रकारहरुलाई समाचार लेखेको विषयमा दुर्व्यवहार गरिनु आपत्तिजनक निन्दनीय कार्य भएकोले कानुन बमोजिम यथाशिघ्र कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रशासन समक्ष माग गरिएको छ । साथै यस किसिमको गुण्डागर्दी शैलीमा गालीगलौज गर्ने प्रकृतिकाे सम्पूर्ण सञ्चारकर्मी एकजुट भई प्रतिवाद गर्नुपर्ने समेत आग्रह गरिएको छ ।
प्रकाशक सम्पादक भण्डारीले भने आफूलाई प्रोपराइटर भण्डारीले गालीगलाैजका साथै गुण्डागर्दी शैलीले ज्यान मार्ने धम्कि दिएको बताउनुहुन्छ ।
