आतङ्कवादको अभियोगमा साउदी अरबमा सामुहिक मृत्युदण्ड

आतङ्कवादको अभियोगमा साउदी अरबमा सामुहिक मृत्युदण्ड

बुधबार, २०असार, २०८०,

काठमाडौं,

साउदी अरबमा यस वर्षकै सबैभन्दा ठुलो सामूहिक मृत्युदण्ड दिइने भएको छ । आतङ्कवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागिएको हो ।

मिडियाका अनुसार यी अपराधीहरूले मस्जिदमा आक्रमण गरेका थिए । यस आक्रमणमा पाँच जनाको ज्यान गएको थियो भने कैयौँ घाइते भएका थिए । यी पाँच दोषीमध्ये चार साउदी र एक इजिप्टका नागरिक थिए ।

विगतमा साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइने गरेको घटना सार्वजनिक भइरहेका हुन्थे, जसकाकारण यो सामूहिक मृत्युदण्ड पनि सामूहिक रूपमा टाउको काटेर दिइने अनुमान गरिएको छ ।

यससँगै साउदी अरेबियाले यस वर्ष अहिलेसम्म मृत्युदण्डको सजाय पाएको कुल सङ्ख्या ६८ पुगेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार गत मेको अन्त्यमा आतङ्कवादको आरोपमा दुई बहराइनीहरूलाई मृत्युदण्ड दिइएको थियो । गत वर्ष साउदी अरेबियाले कुल १४७ जनालाई मृत्युदण्ड दिने घोषणा गरेको थियो, जुन २०२१ मा भएको ६९ जनाको दोब्बर संख्या हो ।