समाजवादी मोर्चाको औपचारीक घोषणा आज

समाजवादी मोर्चाको औपचारीक घोषणा आज

सोमवार, ४ असार, २०८०

काठमाडौं

माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार समाजवादी मोर्चा

घोषणा गर्दै छन् ।
मोर्चाको घोषणा सोमबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा हुँदैछ ।

संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका थाति रहेको काम पूरा गर्न भन्दै चार राजनीतिक दलले समाजवादी मोर्चा गठन गर्न लागेका हुन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा अध्यक्ष विप्लवले संयुक्तरूपमा घोषणा गर्न लागेको समाजवादी मोर्चामा नेपाल समाजवादी पार्टीको निर्णय आइसकेको छैन ।

नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको सचिवालयल भने हिजो सरकार ढाल्ने र बनाउने खेलमा लाग्न मोर्चा आवश्यक नरहेको बताएको थियो । तर पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानेनजाने निश्चित नभइसकेको र पार्टीका अध्यक्ष महिन्द्रराय यादवले प्रधानमन्त्रीलाई भेटेपछि मात्रै यकिन हुने वताए ।

नेकपा एकता राष्ट्रिय अभियान भने मोर्चामा आबद्ध नहुने भएको छ । अभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले)सँग संवाद अगाडि बढाएका छन् । आइतबार मात्रै एमाले अध्यक्ष ओली र संयोजक गौतमबीच भेटवार्ता भएको थियो ।

छलफलपछि गौतम एमाले फर्कन उत्साहित देखिएका छन् । यद्यपि, उनले एमाले फर्किएपछि के पाउने भन्नेचाहिँ टुंगो लागिसकेको छैन ।