शुक्रवार, १२ जेठ २०८०,
काठमाडौं,
नेकपा (एमाले)ले आज स्थानीय तहका जनप्रतिनिधिहरूलाई आन्तरिक प्रशिक्षण दिँदैछ । प्रशिक्षण अहिले बिहान साढे १० बजेदेखि पार्टी कार्यालय च्यासलमा सुरू भएको छ । प्रशिक्षण शुक्रबार र शनिबार चल्ने एमालेले बताएको छ ।
जनप्रतिनिधिहरुलाई प्रशिक्षण पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत अरु नेताहरूले दिने बताइएको छ ।
अघिल्लो वर्ष भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमालेले) २०६ वटा पालिका प्रमुख र २४१ वटा पालिका उपप्रमुख जितेको थियो ।
निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको नीति, दृष्टिकोण समेटेर बजेट तर्जुमा गर्न सघाउ पुगोस् बनेर प्रशिक्षण कार्यक्रम गर्न लागिएको एमालेले बताएको छ । त्यस्तै स्थानीय तहका अधिकार, योजना छनोट र तर्जुमा, पार्टीसँगको समन्वय आदि बिषय पनि प्रशिक्षमा समेटिने छन् ।
गत वैशाख २८ गतेदेखि ३० गतेसम्म चलेको केन्द्रीय कमिटीको बैठकले जनप्रतिनिधिहरूलाई स्थानीय तहको नीति, कार्यक्रम, बजेट निर्माणका विषयमा प्रशिक्षण दिने निर्णय गरेको थियो ।