वास्तविक कम्युनिष्टहरु एकठाउँ हुनुपर्छ – काफ्ले

वास्तविक कम्युनिष्टहरु एकठाउँ हुनुपर्छ – काफ्ले

भैरहवा । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय कमिटी सदस्य एवं रुपन्देही सह–इन्चार्ज उमा काफ्लेले मुलुकमा भएको परिवर्तनको संस्थागत गर्दै समाजवादतर्फ अघि बढ्न वास्तविक कम्युनिष्टहरु एकठाउँ भएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टी स्थापनाको उद्देश्य पनि मुलुकको विकास गर्दै आमनागरिकलाई दैनिक जीवनमा सहजता तुल्याउनु रहेको बताउनु भयो ।

पार्टी सिद्धार्थनगर नगर कमिटीले शनिबार भैरहवामा आयोजना गरेको कम्युनिष्ट पार्टी स्थापना दिवस एवं नगर कमिटीले प्रकाशन गरेको नयाँ वर्ष २०८० को क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै काफ्लेले अहिले कम्युनिष्टहरु छिन्नभिन्न रहेको जनाउँदै अब सच्चा र वास्तविक विचार मिल्नेहरु एकठाउँ भएर मुलुक बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

‘हुनत मुलुकमा दुईतिहाई नजिकको कम्युनिष्टको सरकार बन्यो । तर, एक व्यक्तिको सनकको भरमा कम्युनिष्ट सरकार ढल्यो, पार्टीहरु छिन्नभिन्न भए’, उहाँले भन्नुभयो ‘ती सच्चा कम्युनिष्ट थिएनन्, पार्टी र जनतामाथि घात गरे । अब वास्तविक कम्युनिष्ट एक ठाउँ होऔं । मुलुक बनाऔं ।’

काफ्लेले कम्युनिष्ट विचार, सिद्धान्त राम्रो भए पनि केही गलत नेतृत्वको कारण बेलाबखत छिन्नभिन्न हुने गरेको बताउनु भयो । जनचाहनाअनुसार काम गर्दै अघि बढे एकीकृत समाजवादी मुलुककै आशा लाग्दो पार्टी बन्ने जनाउँदै त्यसतर्फ सबैले काम गर्नुपर्ने उहाँले बताउनु भयो । सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख समेत रहेकी काफ्लेले कम्युनिष्ट आन्दोलन तितरवितर हुँदा मुलुकको हीतविपरीत काम गर्ने शक्ति र बाह्य शक्ति जुर्मुराउने जनाउँदै सबैको आशा र भरोसाको कम्युनिष्ट पार्टी एकीकृत समाजवादी रहेको भन्दै सबैलाई यो पार्टीमा गोलबन्ध हुन आह्वान गर्नुु भयो ।

पार्टी केन्द्रीय कमिटी सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरेले पार्टीका विचार र सिद्धान्तलाई पढेर, बुझेर पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिइन् । उनले कम्युनिष्ट पार्टी स्थापनाको उद्देश्य पवित्र भएको जनाउँदै अग्रजहरुले जुन उद्देश्यले पार्टी स्थापना गरेका थिए, त्यसअनुसार अघि बढ्नुपर्नेमा जोड दिनु भयो । ‘अहिले कताकता कम्युनिष्टको सिद्धान्तविपरीत क्रियाकलाप हुँदै आएका छन्’, उहाँले भन्नुभयो , ‘यसलाई रोकौं, राम्रो र भरोसायोग्य पार्टी बनाऔं ।’

उहाँले जनतासँग नजिक भएर उनीहरुलाई साक्षर गर्न सके पार्टी निर्माणमा कुनै समस्या नहुने उहाँले भन्नुभयो । उहाँले समाजवादीका युवाहरुले मुलुकमा भइरहेका विकृतिविरुद्ध आवाज उठाएर अघि बढ्नुपर्नेमा जोड उहाँले दिनुभयो । प्रदेशसभा सदस्य घिमिरेले युवाहरु धेरै वेरोजगार भइरहेको जनाउँदै अब प्रत्येक युवा कुनै न कुनै उत्पादनसँग जोडिनुपर्नेमा जोड दिनुभयो । उत्पादनसँग जोडिएमा व्यक्ति सक्षम हुने उहाँको भनाई छ ।

पार्टी जिल्ला कमिटी अध्यक्ष अविराम विक, प्रदेश कमिटी सदस्य ऋषिराम शर्मा, जिल्ला सचिवालय सदस्य तारापति भण्डारी, सिद्धार्थ नगर कमिटी अध्यक्ष रामबहादुर बस्नेत, नगर कमिटी उपाध्यक्ष सार्दुलमयुर कसौधन लगायतले बोल्दै एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार अन्य कम्युनिष्ट पार्टीको भन्दा राम्रो भएको बताउनुभयो । उहाँहरुले जनताका सुखदुखमा साथ दिँदै अब कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउँदै लैजानुपर्ने र त्यसको नेतृत्व समाजवादीले गर्नुपर्ने बताउनुभयो । सिद्धार्थनगर कमिटीले जस्तै सबै कमिटी क्रियाशील भएर काम गरे समाजवादी आउने दिनमा विशाल कम्युनिष्ट पार्टी बन्ने दावी उहाँहरुको छ ।