प्रभु साहको प्रश्न, ‘सरकारी अस्पतालमा औषधि हुँदैन, सर्वसधारणले बेड नपाउँने समस्याको समाधान कहिले हुन्छ सरकार ?’

27Shares
प्रभु साहको प्रश्न, ‘सरकारी अस्पतालमा औषधि हुँदैन, सर्वसधारणले बेड नपाउँने समस्याको समाधान कहिले हुन्छ सरकार ?’

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारसँग गरिबी निवारण गर्ने योजना नै नभएको टिप्पणी गरेका छन् । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसद साहले यस्तो आरोप लगाएका हुन् । ‘गरिबी निवारण मन्त्रालय छ । गरिबी निवारण गर्ने योजना खै ? उद्योग मन्त्रालयको बजेटमा रोजगारी सिर्जना गर्ने कुरा खै ?’ उनले प्रश्न गरे । अध्यक्ष साहले सहकारी पीडितले न्याय पाउँछन कि पाउँदैनन् भनेर प्रश्न गर्दै भने, ‘सहकारी पीडितले न्याय पाउँछन् कि पाउँदैनन् ? अनि सहकारी ठगलाई कारबाही हुन्छ कि हुँदैन् ?’ सो क्रममा उनले जनतालाई सुलभ स्वास्थ्य सेवाको व्यवस्था गरिनुपर्ने कुरा उठाए । राज्यको लगानीमा चिकित्सा शिक्षा अध्ययन गरेका डाक्टरहरु विदेश पलायनमा लागेको र भएका चिकित्सिकहरुपनि ८० प्रतिशतभन्दा बढि शहरकेन्द्रित भएको उनको टिप्पणी छ । प्रत्येक गाउँपालिकामा सुविधासम्पन्न अस्पताल खोल्ने भनिएपनि अहिलेसम्म त्यो कार्यान्वयन नभएकोमा साहको गुनासो थियो । ‘सरकारी अस्पतालमा औषधि हुँदैन । भएपनि सस्तो औषधि र कम औषधि मात्रै हुन्छन् ।

साहले भने, ‘नजिकै निजी संस्था हुन्छ । त्यहाँ सबै औषधि पाइन्छ । सरकारी अस्पतालमा बेड पाइँदैन । निजी अस्पतालमा मनोमानी छ ।’ स्वास्थ्य बीमाको प्रभावकारिताका विषयमा पनि उनले प्रश्न उठाए । ‘स्वास्थ्य बीमा लिन हैरानी छ । स्वास्थ्य बीमा मजाक बनेको छ’ साहले भने । नेपालका चिकित्सकहरु विदेश जाने फेसन भएको भन्दै उनले थपे, ‘नेपालको दानापानीले पढ्ने र विदेशीको सेवा गर्ने । यसलाई नियमन गर्न नसक्ने हो र ?’ भएका चिकित्सकहरु पनि शहर केन्द्रित हुँदा ग्रामीण भेगका अस्पतालमा बिरामीले उपचार पाउन नसक्ने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे । यसैबीच आजपा अध्यक्ष साहले गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि ः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गरेका छन् ।

उनले विश्वमै अभ्यास रहेका व्यवस्थामध्ये गणतन्त्र उत्कृष्ट शासन व्यवस्था भएको दाबीसमेत गरे । ‘गणतन्त्रलाई विभिन्न कोणबाट बदनाम गर्ने प्रयास भइरहेकोप्रति परिवर्तनकारी शक्तिहरू सचेत रहनुपर्दछ’ उनले भने । गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्दै समृद्धिको गतिलाई तीव्रता दिनुपर्ने बताउँदै उनले मुलुकमा समृद्धिका लागि सुशासन अपरिहार्य भएको जनाउँदै केही असफल नेतृत्वका कारण गणतन्त्र कमजोर बन्न हुँदैन भने । ‘गणतन्त्र सुन्दर व्यवस्था भए पनि सञ्चालकले यसलाई ठिक मार्गबाट अघि बढाउन नसक्दा जनताले जति लाभ प्राप्त गर्नुपर्ने थियो, त्यो हुन नसकेको कारण आम जनतामा केही निराशा बढेको छ’, उनले भने ।