गुलरिया नेपालगञ्ज सडक मर्मत , उक्काएर फालेको अलकत्राको फेरी प्रयोग

72Shares
गुलरिया नेपालगञ्ज सडक मर्मत , उक्काएर फालेको अलकत्राको फेरी प्रयोग

दीपक शर्मा

४ माघ, बर्दिया । बाँकेको नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्गमा निर्माणमा निर्माण कम्पनीले चरम लापरवाही गर्दासमेत सम्बन्धित निकायले ध्यान नदिँदा बनेको सडकको भविष्यमाथि प्रश्न उठ्न थालेको छ । निर्माणको जिम्मा पाएको शर्मा एण्ड कम्पनीले सडक बनाउने क्रममा सबै जसो कमसल र समय सकिएका सामग्रीको प्रयोग गर्दै आइरहेको छ ।निर्माण कार्यमा कमसल सामानको प्रयोग भएका कारण साना साना पुल भत्किन थालेका छन् । हुलाकी राजमार्ग अन्तर्गत नेपालगञ्ज ,मैनापोखर , गुलरिया सडक विस्तार कार्य योजनाका लागी शर्मा एण्ड कम्पनीले २७.६२ किलोमिटर कालोपत्रे गर्ने जिम्मा लिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी कृष्ण पाण्डेले जानकारी दिए । तर, निर्माण कम्पनीले पुरानो बाटोको अलकत्रा तथा पुरानो पुलको अलकत्रा उप्काएर किनारमा राखी त्यसलाई नै प्रयोग गर्दै आइरहेको प्रति भने कार्यालयले ध्यान दिएको छैन ।यस विषयमा स्थानीयले पटक पटक आवाज उठाउँदासमेत सम्बन्धित निकायले वेवास्ता गरेको स्थानीयबासीको भनाई रहेको छ । शर्मा एण्ड कम्पनीले पुल निर्माण कार्य तथा सडक निर्माण कार्य सगँसँगै अघि बढाएको छ । साथै पुल निर्माण कार्यमा समेत कमसल सामग्रीको प्रयोग गरेका कारण पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भए लगत्तै भत्किएको पाइएको छ ।अहिले बेस र सब बेशको काम चलिरहेको छ । नाली बनाउँदा कच्चा अर्थात् पिला इँटा प्रयोग भएको जन गुनासो बढेपछि हुलाकी आयोजना कार्यालय अनुगमनमा पुगेपछि अव्वल इँटाको प्रयोग गरिएको थियो । अहिले पुरानो बाटोबाट निकालिएको कालो पत्रेलाई नै पुन प्रयोग गर्ने गरेको पाइएको हो । शितलाबजारमा निर्माण भएको नालाको पंखा निर्माणाधीन अवस्थामा छुट्टिएको तस्विर केही दिन पहिले सामाजिक संजालमा भाइरल भएको थियो । कम्पनीले सडकको फिलिङमा चरम लापरबाही गर्दा पनि अनुगमनका निकायले ध्यान दिएका छैनन् ।पुरानो पक्की सडकको अलकत्रा उप्काएर फिलिङ गर्दा गुणस्तरमाथि प्रश्न चिन्ह खडा भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार बाँकेको नेपालगञ्ज देखि बर्दियाको गुलरिया सम्म जम्मा २७.६२ किलोमिटर लम्वाई बाटोमा ४ लेनको ११.६ किलो मिटर र बाकि १६.०२ किलोमिटर २ लेनको हुने बताए । जस अन्तर्गत बाँकेमा ११.६ किलोमिटर लम्वाई हुने छ त्यसमा ५.४ किलोमिटर ४ लेनको हुने छ भने ६.३६ किलोमिटर २ लेनको हुने छ यसै गरी बर्दिया तर्फ जम्मा १५.८६ किलोमिटर लम्वाईमा ६.२ किलोमिटर ४ लेनको हुने छ भने बाँकी ९.६६ किलोमिटर २ लेनको हुने बताइएको छ ।कम्पनीले पुरानो बाटोकै सामान प्रयोग गरेको विभिन्न स्थानमा निर्माण गरिएका नाली भत्किएको कलभर्ट जोडमा त्रृटि देखिएको भएपनि उच्च राजनीतिक संरक्षणका कारण कुनै पनि दलले खुलेर विरोध गर्न सकिरहेका छैनन् । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार नागरिकले गुनासो गरेपछि आफूहरु अनुगमनमा गएको बताए । केही स्थानमा गलत भएको पाइएको बताउँदै सुधारका लागी मौका दिइएको बताए ।