२८ पुस दाङ — पूर्व पश्चिम राजमार्गअन्तर्गत दाङको भालुबाङ स्थित राप्ती नदी पुलबाट यात्रुबाहक बस नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको सो दुर्घटनामा १२ वजे बजेसम्ममा ५ जनाको मृत्यु र २५ जना घाइतेको उद्धार भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्वल सिंहले बताए ।मृतकको सनाखत हुन बाँकी रहेको र अन्य विवरण संकलन भइरहेको उनले बताए ।
नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका १ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताए । उनका अनुसार बसमा ३५ यात्रु सवार थिए ।भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमै बस पुलको दाँयातर्फबाट पुलको रेलिंग भत्काएर नदीमा खसेको थियो ।प्रहरीले उद्धारको कार्य जारी राखेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।