भागबन्डा गर्न सत्ता गठबन्धन आज पनि छलफलमा बस्दै

72Shares
भागबन्डा गर्न सत्ता गठबन्धन आज पनि छलफलमा बस्दै

२२ पुस काठमान्डौ राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक आइतबार पनि बस्दै छ। आज बस्ने बैठकले उम्मेदवारी बाँडफाँट टुंग्याउने माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए। यद्यपि बैठकको समय टुंगो लाग्न बाँकी रहेको उनले बताए।स्रोतका अनुसार रिक्त १९ सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्र ले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले १ स्थान पाउने गरी प्रस्ताव अघि सारिएको छ।त्यसमा एकीकृत समाजवादी सहमत हुन सकेको छैन। ठूला दुई दलले एकलौटी गर्न खोजेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बैठक बीचमै छाडेर बाहिरिएका थिए।एकीकृत समाजवादीले तीन सिटको ‘बटम लाइन’ अघि सारेको छ।‘सधैँ उनीहरू नेपाली कांग्रेस, माओवादी केन्द्रका अप्ठ्यारा मात्रै हेरेर हुँदैन। हामीले बैठकमा तीन सिट चाहिन्छ भनेर भनेका छौं। एक किसिमले भन्दा हाम्रो निर्णय नै यही हो। योभन्दा दायाँबायाँ भयो भने हामी मान्दैनौं।अध्यक्ष नेपाललाई राखेर प्रस्तावलाई अन्तिम रूप दिइने र गठबन्धनको बैठक बसेर निर्णय गर्ने गठबन्धनको तयारी छ।तीन सिट नै दाबी गरिरहेको जनता समाजवादी पार्टी पनि नेपाली कांग्रेस र माओवादी केन्द्रले अघि सारेको प्रस्तावमा सहमत छैन।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपा , नागरिक उन्मुक्ति पार्टी नाउपा, जनमत पार्टीले पनि भाग खोजेका थिए। उनीहरूले पनि सिट नपाउने पक्कापक्की भइसकेको एकीकृत समाजवादीका एक अर्काले भने।कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्लस्टरमा भागबन्डा मिलिसकेको बैठकमा सहभागी एक कांग्रेस नेताले बताए।बाँकी स्थानमा पनि आइतबार कुरा मिल्ने उनको दाबी थियो।