१७ पुस काठमान्डौ । नेपाल खुल्ला विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । उपकुलपति शिलु मानन्धर बज्राचार्यका कारण विश्वविद्यालयको नाम दिनप्रतिदिन बद्नाम हुँदै गएको जनाउँदै विद्यार्थीहरुले विरोधमा उत्रिएका हुन् । उनीहरुले उपकुलपति बज्राचार्यलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएका छन् ।संयुक्त विद्यार्थी संघर्ष समितिले उनलाई विश्वविद्यालयको गाडी प्रयोगमा पनि निषेध गरेको छ । उनले आर्थिक लेनदेनको आधारमा नियुक्ति खरिदबिक्री गरेको, परीक्षाजस्तो संवेदनशील र गोप्य कार्यमा आफ्नो परिवारको सदस्य प्रयोग गरेको, विश्वविद्यालयलाई आफ्नो पैतृक सम्पत्तिझैं गरेको समितिको आरोप छ ।समितिले जारी गरेको विज्ञप्तिमा उनको राजीनामा समेत मागिएको छ । भनिएको छ,‘विश्वविद्यालयको प्राज्ञिक मर्यादाविपरीत विश्वविद्यालयमा आर्थिक लेनदेनको आधारमा नियुक्ति खरिदबिक्री गरेको, परीक्षाजस्तो संवेदनशील र गोप्य काममा उपकुलपतिले आफ्नो परिवारको सदस्य प्रयोग गरी नाजायज कार्य गरेको तथा विश्वविद्यालय आफ्नो पैतृक सम्पत्तिजस्तो गरी धाकधम्की दिएर विश्वविद्यालयको शिक्षक–कर्मचारीलाई आतंक सिर्जना गरी विश्वविद्यालयको शैक्षिक वातावरण बिगारेको कारणले उपकुलपतिको कारणले विश्वविद्यालय तहसनहस भएकोले तत्काल राजीनामा दिई मार्ग प्रशस्त गर्न अनुरोध गरिन्छ ।