महोत्तरी ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार असफल भईसकेको टिप्पणी गर्दै अब आम जनताले सडकबाटै यो सरकार र व्यवस्थाको अन्त्येष्टि गर्नुको बिकल्प नभएको बताएका छन् ।
आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज महोत्तरीको जलेश्वरमा आयोजित आमसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले शान्ति सुरक्षा कायम गर्न असफल भएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हरेक बस्तुमा कर आतंक मचाएकाले आम जनता सडकमा आह्वन समेत गरेका छन् ।
आम जनताको शासन व्यवस्थाका लागि सडकबाटै यो सरकार र व्यवस्था फाल्ने बताउदै तेस्रो जनआन्दोलनको बिकल्प नभएको बताए । उनले जनता र मुलुक विरोधी तानाशाही सरकार र यो व्यवस्थाको विरोधमा उत्रिन आह्वान गर्दै भ्रष्ट नेताहरुमाथि कसैको विश्वास नभएको बताए । उनले कुनै काम नलाग्ने यो सरकार र व्यवस्था फाल्नमा ढिलाई गरे मुलुकले ठुलो मुल्य चुकाउनुपर्ने बताए ।
मुलुकमा मनोमानी कर बढाएर जनताको ढाड सेक्ने काम भईरहेको बताउदै भ्रष्टाचार, लुट, आतंक, बेरोजगारी बढेको, कामका लागि युवाहरु खाडी मुलुक जान बाध्य बनाइएको उनले बताए । तीनै तहको सरकारले मनोमानी कर आतंक मचाएको बताउदै उनले यस्तो भ्रष्ट व्यवस्था र सरकार बिरुद्ध कहिले सम्म चुप लागेर बस्ने भन्दै प्रश्न गरेका छन् । यस्तो अवस्थामा अब जनताले सडकबाटै यो व्यवस्था र सरकार फाल्ने उदघोष गर्दै सडकबाटै सरकार गठन गर्ने चेतावनी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्ट र लुटेराहरुको सरकारको संज्ञा दिदै आजपा अध्यक्ष साहले भने, ‘यो सरकारले भ्रष्ट, लुटेरा, अपराधीलाई संरक्षण दिईरहेको छ । विरोध गर्ने विपक्षीलाई तर्साउने, पक्राउ गर्ने तर जघन्य अपराधका अपराधीलाई जोगाउने काम गरेको छ । त्यसैले यो व्यवस्था र सरकार हुँदासम्म मुलुक समृद्ध हुन सक्दैन् । स्थायित्व, समृद्धि र जनताको आवश्यक्ता एवं चाहना पुरा गर्नका लागि यो व्यवस्था र सरकार सडकबाटै जनताले फाल्न ढिलाई गर्नु भएन् ।’
विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काम वर्तमान सरकारले गरेको बताउँदै उनले यसको बिकल्प अब सडकबाटै जनताले खोजिरहेको बताए । ‘यो सरकार भ्रष्टाचारी र विचौलियालाई जोगाउने काममा लागेको देखियो । विकास होईन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो । बाढि, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार राहत नभनेर पीडित जनताको लागि नै बोझ बनेको देखियो । त्यसैले निरास जनताले यसको बिकल्प खोजिरहेका छन्’ आजपा अध्यक्ष साहले भने ।
सत्ताको दुरूपयोग गरी व्यापारीबाट अनुचित लाभ लिने गरेको ओली सरकारले भ्रष्ट कर्मचारीलाई प्रोत्साहन र इमान्दारलाई दण्डित गरिरहेको उनले बताए । जनताको आवश्यक्ता र चाहना अनुसार सेवा प्रवाह गरेर जनतामा आशा जगाउने काम गर्नुको साटो सरकारले जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काममै केन्द्रित भएको उनको आरोप छ ।
‘यो सरकार लुटधन्दामा लागेको छ । लुटेरा र भ्रष्टलाई जोगाउने, संरक्षण दिइरहेको सरकारले बिभिन्न बाहाना र नाममा कर माथि कर लिने गरेको छ । जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लेटेर विदेशमा थुपार्नेहरु शासक भएका छन् । तर नेपाल बनाउन चाहने आम जनता शासित छन् । के यसको बिकल्प दिनुपर्दैन ?’ आजपा अध्यक्ष साहले प्रश्न गरे ।
उनले अगाडी थपे, ‘हामीभन्दा ठुलो देश भारत र चीनमा हरेक समानहरु सस्तो छ तर नेपालमा किन महंगो छ ? भारतमा दुई लाखमा पाउने मोटरसाईकल नेपालमा किन पाँच लाख ? लताकपडा, खाद्यन्न लगायतका सबै बस्तु भारत र चीनमा सस्तो हुने । तर हामी जस्तो सानो र थोरै जनसंख्या भएको देशमा सबै बस्तु महंगो हुने । उनीहरुभन्दा त सस्तो हाम्रोमा हुुनुपर्ने हाईन र, तर यहाँ सरकार त लुटेरा छ । करमाथि कर लिन्छ, सेवा शुन्य छ । तर पनि हामी कहिलेसम्म चुप लागेर बस्ने ?’
आजपा महोत्तरी जिल्ला अध्यक्ष अरबिन्द साहको अध्यक्षतामा ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ अन्तरगतको अन्तरक्रिया कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षद्धय समिना हुसेन, बिल्टु यादव, महासचिव त्रिभुवन साह, उपमहासचिव राजन यादव, सचिव श्रीचन मुखिया, स्थायी कमिटी सदस्य राधेश्याम साह, सुनिता साह क्रान्ति लगायतको बिशेष सहभागिता रहेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।