प्रधानमन्त्री ओलींग प्रभु साहको प्रश्न, ‘दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिन्छ की लिदैन् ?’

21Shares
प्रधानमन्त्री ओलींग प्रभु साहको प्रश्न, ‘दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिन्छ की लिदैन् ?’

काठमाडौं ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले सौर्य एयरलाईन्सको जहाज दुर्घटना तथा बस दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रश्न गर्दै उनले यो दुर्घटनाको नैतिक जिम्मेवारी लिएर आफ्नो नैतिकता प्रदर्शन गर्नुपर्ने सुझाव समेत उनले दिए ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका आजपा अध्यक्ष साहले दुर्घटनाको नैतिक जिम्मेवारी लिदै मन्त्रीले राजिनामा दिनुपर्ने बताए । यस्तो दुर्घटना हुँदा एउटा छानविन समिति बनाउँने र निरिह कर्मचारीलाई कारवाही गरेर मात्रै नहुने बताउँदै उनले प्राधिकरणलाई अस्तव्यस्त बनाउँने मन्त्रीले किन राजिनामा दिनुहँुदैन भन्ने प्रश्नको जवाफ समेत उनले माग गरे ।

यही साउन ९ गते काठमाडौंमा भएको सौर्य एयरलाईन्सको जहाज दुर्घटनाका साथै दुई साता अघि सिमलतालमा भएको दुर्घटनाको नैतिक जिम्मेवारी सम्बन्धी मन्त्रीले लिनुपर्ने र उनीहरुले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने उनले सुझाव दिए ।

‘यसको जिम्मा कसले लिने ? निरन्तर जहाज दुर्घटना भइराख्ने तर, यसको जिम्मा कसैले नलिने ? छानबिन समिति बनाउने र साना कर्मचारीलाई दोषी देखाउने ? ती प्राधिकरण र युनिटकाहरु मात्रै जिम्मेवार हो कि त्यो युनिट र प्राधिकरणलाई अस्तव्यस्त बनाउने सरकार पनि जिम्मेवार हो ?’ साहले प्रश्न गर्दै भने ।

उनले सरकार बास्तवमा जनउत्तरदायी हो भने जहाज दुर्घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताए । ‘यसमा सरकार जवाफदेही हुन्छ कि हुँदैन ? म सम्मानिय प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु, यसको नैतिक जिम्मेवारी सरकारले लिँदैन भने कल्ले लिने हो ?’ उनले प्रश्न गरे । सो अवसरमा उनले जहाज दुर्घटनालगत्तै सरकारले उद्धार तथा राहतको लागि तदारुकता देखाएकोमा धन्यवाद ज्ञापन गरे । साथै बस दुर्घटनामा सरकार जिम्मेवार तरिकाले नलागेकोमा आपती समेत व्यक्त गरे ।

सिमतालमा भएको बस दुर्घटनाको घट्नाको विषयमा पीडित परिवारलाई राज्यले बेवास्ता गरेको उनको आरोप थियो । उनले अहिलेसम्म २५ जनाको मात्रै शव भेटिएको र बाँकी शवको पनि टुँगो नलागेकोमा राज्य त्यहाँ नदेखिएको गुनासो पोखे । पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने सवालमा पनि राज्य चुकेको उनको आरोप छ । पीडित परिवारले राज्यबाट कुनै क्षतिपुर्ति नपाउँनुका साथै विमाको रकम पाउँन पनि पीडित परिवार हारगुहार गरिरहेको तर सरकारले नसुने जस्तो गरेको उनले बताए ।

यसैगरी आजपा अध्यक्ष साहले बोलबम कवरियालाई पनि सरकारले हेला गरेको गुनासो गरेका छन् । मेला तथा महोत्सवको नाममा सरकारले लाखौं खर्च गर्ने गरेको भएपनि भगवान शिवका भक्त बोलबम कवरियाहरुलाई भने उपेक्षा गरिएको उनको आरोप छ । बोलबम कवरियालाई संरक्षण गर्ने, व्यवस्थापन गर्ने, सुरक्षा गर्ने लगायतको जिम्मेवारी सरकारले लिनुपर्ने उनले बताए । संस्कृतिकको जगेर्ना गर्ने काम सरकारको भए पनि सरकार आफ्नो जिम्मेवारीबाट भाग्न खोज्नु आपतीको बिषय भएको उनले बताए ।