१३ असोज, काठमाडौं । आज शनिबार देखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।
श्रावणमा मलमास परेकाले ढिलागरी सोह्रस्राद्ध १३ असोज शनिबारदेखि प्रारम्भ भएको छ । देवयोनी र पितृयोनी एउटा यस्तो योनी हो, जसले टाढाबाट भनिएका कुराहरु सुन्ने, पूजा पनि ग्रहण गर्ने र टाढाबाटै गरिएको स्तुतिबाट पनि प्रसन्न हुन्छन् ।
देवता र पितृहरु सुगन्धित तथा भावबाट नै तृप्त हुन्छन् । जस्तै मनुष्यको आहार भएजस्तै पितृहरुको आहार भनेको अन्नको सारतत्त्व हो । जसरी गौशालामा छुट्टिएर बसेको आमालाई बाच्छीले कुनै न कुनै प्रकारले खोज्छन् भनेजस्तै मन्त्र, आहुति, द्रव्यहरुको पितृहरुले आफू निवास गरिरहेको स्थानमा कुनै न कुनै प्रकारले पुगिरहेका हुन्छ ।
आफ्नो पितृहरुको तिथिअनुसार श्राद्ध गरेपछि पितृ प्रसन्न भएर गर्ने परिवारमा उनीहरुको सन्तानको आयु वृद्धि भएर जान्छ भने धनधान्य सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । महर्षि याज्ञवल्क्यले आफ्नो याज्ञवल्क्य स्मृतिमा लेखेका छन्– पितृहरु श्राद्धबाट नै तृप्त हुन्छन् र तृप्त आत्माले दिएको आशिर्वादले हाम्रो आयु, धन, विद्या, स्वर्ग, मोक्ष, राज्य एवं अन्य सबै सुखभोग गर्न पाउने छन् ।श्राद्धचन्द्रिका नामक पुस्तकमा कर्मपुराणको मध्यभागमा श्राद्धभन्दा ठूलो अरु कुनै पनि कुराहरुबाट नहुने उल्लेख गरिएको छ । त्यसैले हरेक मनुष्यले जसरी भए पनि श्राद्धको कर्म गर्नु नै पर्ने कुरा शास्त्रले अह्राएको छ । स्कन्दपुराणको नगरखण्डमा बताइएको छ कि– श्राद्धमा प्रयोग भएका कुनै पनि वस्तुहरु व्यर्थ नजाने भएकोले श्राद्ध अवश्य गर्नु पर्ने बताइएको छ । हाम्रो धर्मशास्त्रमा श्राद्धसम्बन्धी कुराहरु यति धेरै विस्तारमा बताइएको छ कि श्राद्धमा गरिने सानोभन्दा सानो कुराको सूक्ष्म मीमांसा र समीक्षा गरिएको छ । श्राद्ध माता, पिता एवं अन्य पूर्वजहरुको निमित्त श्रद्धापूर्वक गरिने दान नै श्राद्ध हो ।शास्त्र अनुसार पिताको श्राद्ध पुत्रले नै गर्नुपर्ने बताइएको छ । यदि छोरा नभएको अवस्थामा पत्नीबाट पनि श्राद्ध गर्नु पर्ने नियम बताइएको छ । पत्नी नभएको अवस्थामा भाइ र यदि भाइको पनि अभाव भएमा जामाता ज्वाईं पनि श्राद्धका अधिकारी हुन्छन् । आमाको श्राद्ध पिताको श्राद्धसँग नै गर्नुपर्ने हुन्छ ।मत्स्यपुराणका अनुसार श्राद्ध गर्नका लागि सबैभन्दा राम्रो समय मध्याह्नकाललाई मानिन्छ । श्राद्ध गर्ने समयमा तीन कुरा अत्यन्त आवश्यक हुन्छन् । रीस, अपवित्रता र हतारलाई त्याग गरी शुद्धपवित्र भावनासहित गर्नुपर्ने कुरा शास्त्रमा वर्णन गरिएको छ ।श्राद्धको दिन कालो दाल, तील, जौँ, सामा, चामल, दूध, मह, गौँ, चिनी, कपूर, अमला, कटहर, अनार, नरिवल, सुपारी, तुलसी, कागती, पीपल लगायतका वस्तुहरुको प्रयोग गर्नु अत्यन्त राम्रो हुने कुरा उल्लेख गरिएको छ । उक्त पुराणका अनुसार सात्विक अन्न वा फलबाट पितृलाई तृप्त गराउनु पर्ने कुरा बताइएको छ ।
आश्विन कृष्ण पक्षको प्रतिपदादेखि औँसीसम्म ब्रह्माण्डको ऊर्जा तथा त्यो ऊर्जासँग पितृहरुको प्राण पृथ्वीमा व्याप्त हुन्छ । पितृपक्षमा पितृहरु श्राद्ध, तर्पण पाउने आशामा आप्mनो सम्बन्धित श्राद्धकर्ताको घरमा सूक्ष्म शरीरले घुमीरहन्छन् । तसर्थ १६ दिन, ११ दिन, ७ दिन, ५ दिन, ३ दिन अथवा १ दिन श्राद्ध तर्पण गर्ने विधान छ । शक्ति एवं परिस्थितिअनुसार १ दिन त अनिवार्य नै गर्नुपर्दछ ।