चितवनको बीपी कोइराला क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार

126Shares
चितवनको बीपी कोइराला क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार

११ मंसिर चितवन । बिपी कोइराला मेमोरियल बाल क्यान्सर अस्पतालमा क्यान्सर संक्रमित बालबालिकाको अब निःशुल्क उपचार हुने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट केमोसहितका ३५ प्रकारका बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले औषधिसहित सम्पूर्ण उपचार निःशुल्क शुरू गरेको उहाँले बताउनुभयो ।

अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्मा बालबालिकामा लागेको क्यान्सर सुरुकै अवस्थामा पत्ता लागे निको हुने बताउँछन् । नेपालमा बर्सेनि एक हजार पाँच सय हाराहारीमा बालबालिकालाई क्यान्सर हुने गरेको छ । तीमध्ये आधा मात्र उपचारको पहुँचमा आउने गरेको उनले जानकारी दिए ।

उनले भने, “कतिपय बालबालिका क्यान्सर पत्ता नलागी ज्यान गुमाएका हुन्छन् । कतिपय विदेशमा गएर उपचार गराएका छन् । तर ५० प्रतिशत बालबालिका क्यान्सर अस्पतालको पहुँच बाहिर रहेको अनुमान गरिएको छ ।”

बाल क्यान्सरको उपचार पूर्ण निःशुल्क भएसँगै पहुँच बाहिर रहेका बालबालिका पनि उपचारको पहुँचमा आउने विश्वास उनले व्यक्त गरे ।