मंगलबार, १६ साउन, २०८०,
काठमाडौं,
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारका ५७ कर्मचारीलाई हटाउने निर्णय गरेको छ । गाउँपालिकाको सोमबार बसेको २५औं कार्यपालिका बैठकले करारका जम्मा ६५ कर्मचारीमध्ये ५७ जनालाई हटाउने निर्णय गरेको हो ।
करारका तीन जना छैटौं तहका अधिकृत, चार जना पाँचौं तहका सहित कृषितर्फका ११, जनस्वास्थ्यका १८, भेटेरिनरीका पाँच लगायत करारका कर्मचारीको करार अवधि थप नगर्ने र प्रोत्साहन रकम दिएर बिदा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।
“गाउँपालिकाले रिक्त स्थानमा करारका नयाँ कर्मचारी भर्ना गर्न विज्ञापन खुलाउने र परीक्षा दिएर पुरानै कर्मचारी पनि पुनः सेवामा फर्कन सक्नेछन् ” राईले भने
गाउँपालिकाले ५० वर्ष नाघेका करारका कर्मचारीलाई प्रोत्साहन स्वरूप जनही पाँच लाख उपदान र अन्य करारका कर्मचारीलाई एक महिना १५ दिनको तलब बराबरको सुविधा दिएर बिदा गर्ने निर्णय गरेको हो । गाउँपालिकाले पाँच जना गाउँ प्रहरी, एक जना एम्बुलेन्स चालक, एक जना गाउँपालिका अध्यक्षको सवारी चालक र ब्याकहो लोडरका अपरेटरको मात्र करार अवधि नवीकरण गर्ने निर्णय गरेको छ ।