सोमवार, २२ जेठ, २०८०
चुनढुंगा उत्खनन गर्दा चुनढुंगा खानीआसपासका ३० घरपरिवार विस्थापित भएका छन् । दैनिक चार सयभन्दा धेरै एक्स्काभेटर र डोजर लगाएर डाँडा भत्काउँदै गएपछि स्थानीय विस्थापित भएका हुन् ।
मारुती सिमेन्टले सिन्धुलीको दुधौली नगरपालिका– १४ ककुरठाकुरमा वन क्षेत्र अतिक्रमण गरेर चुनढुंगा उत्खनन गर्दा खानीआसपासका ३० घरपरिवार विस्थापित भएका छन् । अन्य ११ परिवार उठीवास लाग्ने अवस्थामा पुगेका छन् ।
सिन्धुली र उदयपुरको सिमाना भएर बग्ने ककुरखोलाको उद्गमस्थलमा भएको उत्खननका कारण बर्खामा बाढी–पहिरो गएर हरेक वर्ष करिब १० बिघा उब्जनी गर्ने जमिन बगरमा परिणत हुन्छ । उब्जनी गर्ने जमिन बगर बन्ने र घर पहिरोमा बग्ने डरका कारण स्थानीय थातथलो छाड्न बाध्य भएका छन् ।
मारुती सिमेन्टले खानी आसपासका स्थानियलाई अलिअलि मुआब्जा दिएर त्यस ठाउँबाट उठाउने गरेको छ ।
सिराहामा कारखाना रहेको मारुती सिमेन्टले कच्चा पदार्थ सिन्धुलीबाट लैजाने गरेको छ । विगत ३० वर्षदेखि उत्खनन गर्दै आएकोमा कारखानाले सिमेन्ट उत्पादन भने दुई वर्षअघिदेखि सुरु गरेको हो ।
सुरुमा मानिस लगाएर उत्खनन गर्ने कम्पनीले अहिले अत्याधुनिक साधन प्रयोग गरेर चुनढुंगा निकाल्दै आएको छ । वर्षमा करिब पाँच महिना कच्चा पदार्थ उत्खनन गरी उदयपुरको कटारी नगरपालिका– २ हडैयामा स्टोर गर्ने र आवश्यकताअनुसार कारखानामा पु¥याउँछ ।