उपाधिका लागी भारत र अस्ट्रेलिया भिडदै , तपाईको समर्थन कसलाई ?

69Shares
उपाधिका लागी भारत र अस्ट्रेलिया भिडदै ,  तपाईको समर्थन कसलाई ?

३ मंसीर काठमान्डौ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करणको उपाधिका लागि आइतबार आयोजक राष्ट्र भारत र अस्ट्रेलियाबिच भिडन्त हुँदैछ । दिवा—रात्री फाइनल खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २.१५ बजे सुरु हुनेछ ।

अस्ट्रेलिया पाँच पटकको एकदिवसीय विश्व च्याम्पियन राष्ट्र हो भने भारतले हालसम्म दुईपटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ । जारी विश्वकपमा पनि भारत र अस्ट्रेलिया दुवै टोली लयमा देखिएका छन् ।भारत प्रारम्भिक चरणमा खेलिएको नौवटै खेलमा विजयी हुँदै अङ्क तालिकाको पहिलो स्थानमा रहेर सेमिफाइनलमा पुगेको थियो । भारतले सेमिफाइनल भिडन्तमा पनि बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई ७० रनले हराएको थियो ।अस्ट्रेलिया भने यो विश्वकपको प्रारम्भमा निराशाजनक प्रदर्शन गरेपछि लयमा फर्किएको टोली हो । अस्ट्रेलियाले प्रारम्भिक चरणमा खेलेका नौमध्ये सात खेलमा जित हात पारेको थियो । अस्ट्रेलियन टोली प्रारम्भिक चरणमा भारत र दक्षिण अफ्रिकासँग भने पराजित भएको थियो ।अस्ट्रेलिया अङ्क तालिकाको दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको थियो । तर, सेमिफाइनल खेलमा भने अस्ट्रेलिया बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई सात विकेटले हराएर आफ्नो वास्तविक क्षमताको परिचय दिएको थियो ।यही अस्ट्रेलियन टोली प्रारम्भिक चरणको खेलमा भने निराशाजनक प्रदर्शन गर्दै दक्षिण अफ्रिकासँग एक सय ३४ रनको विशाल अन्तरले पराजित भएको थियो । त्यसअघि आफ्नो पहिलो खेलमा अस्ट्रेलियन टोली भारतसँग ६ विकेटले हारेको थियो ।जारी विश्वकपमा भारत र अस्ट्रेलिया दुवै टोलीको ब्याटिङ, बलिङ र फिल्डिङ गरी तीनवटै पक्ष निकै सन्तुलित देखिएको छ । यी दुवै टोलीका ब्याट्सम्यान कुनै पनि बेला खेलको नतिजालाई आफ्नो पक्षमा पार्न खप्पिस देखिएका छन् ।भारतले यो विश्वकपमा हालसम्म अपराजित रहँदै आफ्नो क्षमता प्रदर्शन गरिसकेको छ । प्रारम्भिक चरणमा खेलेको नौवटै खेलमा जित हात पार्दै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा पनि भारतले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई हराएको थियो ।समग्रमा फाइनलसम्मको यात्रा तय गर्दासम्म भारतले लगातार १० वटा खेल जितिसकेको छ । यो सफलताले फाइनलअघि भारतको आत्मविश्वास पनि निकै बढाएको छ । यसदेखि वाहेक हरेक खेलमा भारतले आफ्ना प्रतिद्वन्द्वीहरूलाई ठुलो अन्तरले हराएको छ ।हरेक बलिया टोली यो विश्वकपमा भारतसामु निरीह देखिएका छन् । भारतले पहिलो खेलमा पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । त्यसपछि दोस्रो खेलमा अफगानिस्तानलाई आठ विकेटले पराजित गरेको थियो ।यसैगरी भारतले आफ्नो तेस्रो खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि सात विकेटको जित हात पारेको थियो भने चौथो खेलमा बंगलादेशलाई पनि सात विकेटले नै पाखा लगाएको थियो । पाँचौँ खेलमा भारतले साबिक उपविजेता न्युजिल्यान्डलाई पनि चार विकेटले हराएको थियो ।

जारी विश्वकपको प्रारम्भिक चरणमा अस्ट्रेलियाले दुई खेलमा मात्र पराजय भोगेको छ । पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएपछि अस्ट्रेलिया लयमा फर्किएको थियो । त्यसपछि भने अस्ट्रेलियाले लगातार सात खेल जितेको थियो ।दक्षिण अफ्रिकासँग भोगेको हारको बदला अस्ट्रेलियाले सेमिफाइनलमा लिइसकेको छ । अब फाइनलमा अस्ट्रेलियाले भारतको सामना गर्दैछ । अस्ट्रेलिया आइतबार हुने फाइनलमा भारतलाई हराउँदै प्रारम्भिक चरणमा भोगेको हारको बदला लिँदै छैटौँ पटक विश्वकपको उपाधि चुम्ने धुनमा देखिएको छ ।