४ कात्तिक काठमान्डौ । भारतमा जारी एकदिवसीय विश्वकपमा सुरुवाती दुई खेल जित्दै राम्रो सुरुवात गरेको पाकिस्तान शुक्रबार भएको खेलमा अस्ट्रेलियासँग ६२ रनले पराजित भएको छ । पछिल्लो खेलमा भारतसँग ७ विकेटले पराजित भएको पाकिस्तानको यो लगातार दोस्रो पराजय हो ।उता सुरुवाती दुई खेलमा हारेको अस्ट्रेलियाले पुनरागमन गर्दै लगातार दुई खेल जित्न सफल भएको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ६८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ४५।३ ओभरमा ३०५ रनमा समेटियो ।
पाकिस्तानका लागि ओपनरद्वय अब्दुल्लाह सकिब र इमाम उल हकले शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । इमामले टोलीका लागि सर्वाधिक ७० तथा अब्दुल्लाह सफिकले ६४ रन बनाए ।त्यसपछि भने पाकिस्तानले नियमित रुपमा विकेट गुमाउँदै गयो । मोहमद रिजवानले ४६ रन बनाए भने साउद सकिलले ३० रनको योगदान दिए । त्यस्तै इफ्तिकार अहमदले २६ रन बनाए । अस्ट्रेलियाका लागि एडम जाम्पाले घातक बलिङ गर्दै चार विकेट लिए । त्यस्तै, प्याट कमिन्सले र मार्कस स्टोइनिसले २–२ विकेट लिए ।यसअघि बेंगलौरस्थित एम। चिन्नास्वामी स्टेडिमयमा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ६७ रन बनाएको थियो । डेभिड वार्नर र मिचेल मार्सले ओपनिङ विकेटका लागि कीर्तिमानी साझेदारी गरे ।