३१ भदौ कोलम्बो । भारतले श्रीलङ्कालाई १० विकेटले हराउँदै एसिया कपको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । भारतले प्रतियोगिताको उपाधि हात पारेको यो आठौँ पटक हो ।श्रीलङ्काले प्रस्तुत गरेको ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६।१ ओभरमा कुनै पनि विकेट नगुमाई पछ्यायो । भारतका लागि ईशान किसनले २३ तथा शुभमन गिलले २७ रनको पारी खेले ।
यसअघि श्रीलङ्काली टोली एसिया कपको इतिहासमै सबैभन्दा कम योगफलमा समेटिएको थियो । भारतविरुद्धको फाइनलमा टस जिती पहिलो ब्याटिङको निर्णय लिएको श्रीलङ्काले १५ दशमलव २ ओभरमा अलआउट हुनुअघि ५० रनमात्र बनाउन सक्यो ।श्रीलङ्काले एक रनमा पहिलो, आठ रनमा दोस्रो, आठ रनमै तेस्रो, आठ रनमै चौथो, १२ रनमा पाँचौँ, १२ रनमै छैटौँ, ३३ रनमा सातौँ, ४० रनमा आठौँ, ५० रनमा नवौँ र दसौँ विकेट पनि ५० रनमा गुमाएको थियो । श्रीलङ्काका माथिल्ला सातमध्ये ६ ब्याट्सम्यानलाई २९ वर्षीय सिराजले पेभेलियनको बाटो देखाएका थिए । उनले सात ओभरमा २१ रन खर्चिएर ६ विकेट लिएका हुन् ।एसिया कपको इतिहासमा कुनै पनि टोलीले बनाएको सबैभन्दा कम योगफल ८७ रन हो । सन् २००० मा भएको एसिया कपमा पाकिस्तानविरुद्धको खेलमा बंगलादेशी टोली ८७ रनमा अलआउट भएको थियो ।