१५ मंसिर काठमाडौं ।नेपाली क्रिकेटमा महत्वपूर्ण मानिएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि सुरू हुँदैछ।
आठ फ्रेन्चाइज टोली सम्मिलित एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटन खेल सवा १२ बजेदेखि उक्त उद्घाटन खेल हुने बताएको छ ।
खेलअघि उद्घाटन समारोह हुनेछ। एनपिएलको ट्रफी यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट सार्वजनिक गरिसकेका छन्।
उद्घाटन खेलको सबै दस हजार टिकट सोल्ड आउट भइसकेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। उद्घाटन खेलको टिकट साधारणतर्फ ३ सय रूपैयाँ र भीआइपीतर्फ ७ सय रूपैयाँ तोकिएको थियो।
एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्कबाट हुनेछ भने डिजिटल प्रसारण एक्सन स्पोर्ट्स युट्युब च्यानलबाट हुनेछ।
नेपालमा डिजिटल स्कोरबोर्डको प्रयोग पनि पहिलोपटक सुरू हुँदैछ। एनपिएलका लागि त्रिवि मैदानमा प्यारापिट निर्माणदेखि मैदान मर्मतसम्भार गरेर आकर्षक बनाइएको छ।
विराटनगर किंग्सको मार्की खेलाडी लेग स्पिनर सन्दीप लामिछाने छन्।
आयरल्याण्डका केभिन ओ’ब्रायन मुख्य प्रशिक्षक रहेको यो टिममा पाँच विदेशी खेलाडी छन्। ओमानका अकिब इलियास, न्युजिल्याण्डका मार्टिन गप्टिल, क्यानडाका निकोलस किर्टन, स्कटल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन्।
नेपाली खेलाडीहरूमा लामिछानेसहित लोकेश बम,प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मृनाल गुरुङ छन्।
एमडी ड्रिम्स स्पोर्ट्सको स्वामित्वमा रहेको विराटनगरका मालिक पारस लुनिया र वेंकटेश मुन्द्रा छन्। उनीहरूले विराटनगर किंग्स १ करोड ५१ लाखमा किनेका हुन्।
जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ शेख छन्। उनी राष्ट्रिय टिमका विकेटकिपर तथा ओपनर ब्याट्सम्यान हुन्।
जनकपुरमा आशिफसँगै सिनियर राष्ट्रिय टोलीका विकेटकिपर ब्याट्सम्यान अनीलकुमार साह र स्पिनर ललित राजवंशी छन्।
त्यस्तै यू(१९ टोलीका कप्तान हेमन्त धामी पनि बोल्ट्समै छन्। उनी यू(१९ एसिया कप खेल्न युएईमा छन्। अन्य खेलाडीहरुमा रूपेश सिंह,किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर छन्।
जनकपुरमा ६ जना विदेशी खेलाडी छन्।
न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रम्प, इंग्ल्याण्डका बेन माइक, पाकिस्तानका मोहमद मोहसिन, अमेरिकाका लाहिरू मिलन्था र क्यानडाका हर्ष थाकर छन्।
टोलीको मुख प्रशिक्षकमा पुबुदु दासानायके छन्। उनले नेपाली राष्ट्रिय टिममा मुख्य प्रशिक्षकको भूमिका निभाइसकेका छन्। जनकपुरलाई ड्रिम स्पोर्ट्स प्रालिले २ करोड ५ लाख रूपैयाँमा खरिद गरेको थिए।
एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्कबाट हुनेछ भने डिजिटल प्रसारण एक्सन स्पोर्ट्स युट्युब च्यानलबाट हुने बताएको छ ।