१६ मंसिर दाङ । साहित्यकार सुरेश कुमार पाण्डेद्वारा लिखित ‘जेईको सम्झना’ लघुकथासङ्ग्रहको एक कार्यक्रमका बीच घोराहीको मालाइन होटलमा लोकार्पण गरिएको छ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल तथा शताब्दी महिला क्वारीदेवी भण्डारीको विशिष्ट अतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
प्रमुख अतिथि शर्माले पुराना कुरालाई रचनात्मक शैलीमा जीवन्तता दिने काममा सर्जकले न्याय गरेको बताए । उनले नेपाली समाजको अवस्थाबारे कृतिका माध्यमबाट उजागर गर्ने काम गरेर पठनीय सामग्री तयार पारेको भन्दै खुशी प्रकट गरे ।
उक्त कृतिको समिक्षा चन्द्रबहादुर थापा र नारायणप्रसाद श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा कृतिका सर्जक सुरेशकुमार पाण्डेयले कृति रचनाका बारेमा अनुभव सुनाएका थिए । उनले कृति बिक्रीबाट संकलित रकम सामाजिक काममा लगाउने बताए ।
१०८ पृष्ठ रहेको ूजेईको सम्झनाू लघुकथा सङ्ग्रहमा ५४ वटा लघु कथा समावेश गरिएको छ । पारिवारिक, सामाजिक, राजनीतिक, मनोविज्ञान, सांस्कृतिक, रोजगारका पक्षलाई लघु कथाले उजागर गरेको समिक्षकको भनाइ छ । कथा, कथा विधा, यसका आयामलगायत विषयमा समिक्षकले चर्चा गरेका थिए ।
राप्ती साहित्य परिषद् दाङ शाखाकी सहसचिव वीणा रोकाको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रममा सचिव घनश्याम केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। संस्थाको तर्फबाट पुस्तकका लेखक साहित्यकार सुरेशकुमार पाण्डेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।