२०८१ असार २२ गते काठमाण्डौ।। सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक एक समारोहका बीच विमोचन गरिएको छ । शुक्रबार काठमाडौँको वत्तिसपुतलीमा मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी लगायतका व्यक्तित्वहरूको हातबाट पुस्तक विमोचन गरिएको हो ।
पुस्तक विमोचन गर्दै अध्यक्ष रेग्मीले सत्कर्म, सत्प्रयास, सत्चरित्रबाट नै मानिस सफल हुने बताउँदै अमेरिकामा रहेर पनि नेपाल र नेपालीप्रति चिन्ता राख्ने, नेपालीको भलाईका लागि लागिपर्ने सिलवालको प्रशंसा गरे ।
उनले अमेरिका लगायत विश्वका जहाँ रहेपनि नेपालीहरुलाई आफ्नो मातृभूमीको माया रहेको कुरा सिलवालले नेपालमा आएर पुस्तक विमोचन गर्नुले पुष्टि गरेको बताए । रेग्मीले भने, ‘जननी जन्मभूमीश्च स्वर्गादपी गरियसी भनेझै जहाँ पुगेपनि सबैले आफ्नो पहिचान बिर्सेका हुँदैनन भन्ने लाग्दछ । शिक्षा, समाज र संस्कृति नै पहिचान हो र जहाँ पुगेपनि यो राष्ट्रका लागि हामीले केही गर्नु पर्दछ भन्ने हो । रोजगारी छैन भनेर देश छोड्ने चलन छ, यहाँ रोजगारी, कृषि विकासको कुन मोडल अपनाउँन सकिन्छ, एउटा साझा मोडल अपनाएर जुनसुकै सरकार, जुनसुकै पार्टी किन नहोस, बैज्ञानिक, आधुनिक प्रक्रियाबाट सामुदायीक एकताबाट अघि बढ्दा देश समृद्ध हुन्छ, नागरिकहरु समृद्ध हुन्छन् । ’
कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तित्व, वरिष्ठ पत्रकारहरू लगायतले सोचेको अमेरिका र भोगिने अमेरिका फरक रहेको विचार व्यक्त गरेका थिए ।
२८३ पृष्ठको पुस्तकमा संयुक्त राज्य अमेरिकाको परिचय, अमेरिकामा नेपालीहरूको अवस्था, अमेरिकी जीवन प्रारम्भका लागि सुझावहरू, अमेरिकामा अवसर, अर्थ व्यवस्थापन, अमेरिकामा कर, कानुन सम्बन्धी कुराहरू, सडक सुरक्षा र नियम, नेपालसँग अन्तरसम्बन्ध लगायतका विभिन्न विषयहरू समावेश गरिएको छ । गीता सिलवालले प्रकाशन गरेको पुस्तकको मूल्य ५ सय रुपैयाँ रहेको छ ।