६ मंसीर चितवन । भरतपुर महानगरपालिका मेयर रेनु दाहालको सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोज्ने राष्ट्रिय स्वतन्त्र पार्टिका दुई जना कार्यकर्तालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका वडा न ७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन । उनिहरु दुवै जनालाई गएराती आ आफनै घरबाट नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टिका कार्यकर्ता शिव शर्माले भरतपुर महानगरका मेयर दाहाल र पत्रकार सन्तोष देउजाको तस्बिर तोडमोड गरी सामाजिक सञ्जाल मार्फत बदनाम गरेका थिए भने देवकोटा सोहि पोष्टलाई सेयर गरेका थिए । मेयरसंग जोडेर बदनाम गर्न खोजेको भन्दै पत्रकार देउजाले मंगलबार प्रहरीमा ठाडो उजुरी दिएका थिए । सोहि उजुरीको आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको जनाएको छ । गएराति पक्राउ परेका दुवै जनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।