सदन खुलाउने बालुवाटार बैठक निष्कर्षविहीन

780Shares
सदन खुलाउने बालुवाटार बैठक निष्कर्षविहीन

संघीय संसद्मा जारी अवरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठक निष्कर्षविहीन भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष एमालेका नेता केपी शर्मा ओली र तीनवटा दलका प्रमुख सचेतकको उपस्थिति थियो ।

क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्ष एमालेको माग सत्तापक्षले नमानेपछि बैठक निष्कर्षविहीन भएको हो ।

एमालेको मागमा प्रधानमन्त्रीको ‘प्रहरी र राज्यका सम्बन्धित निकायले क्विन्टल सुन तस्करीको छानबिन गरिरहेको र उनीहरूलाई विश्वास गर्नुपर्ने’ भनाइ रहेको थियो तर एमालेले भने उक्त छानबिनलाई प्रभावित नपर्ने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्न माग राखेको थियो । उच्च स्तरीय छानबिन समिति गठनका लागि प्रधानमन्त्री दाहालले अस्वीकार गरेको बैठकमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले बताए ।

बालुवाटारमा सहमति नजुटेपछि सभामुख घिमिरेले २ बजे सचेतकहरूको बैठक बोलाएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक साउन १० यता बस्न सकेको छैन । प्रतिनिधिसभाको बैठक मंगलबार ३ बजेका लागि बोलाइएको छ । पछिल्लो बैठकहरू सूचना टाँसेर स्थगित गरिँदै आएको छ ।