काेशी प्रदेशमा आफ्नो सरकार बनाउन गठबन्धनले गुहार्यो राप्रपा

801Shares
काेशी प्रदेशमा आफ्नो सरकार बनाउन गठबन्धनले गुहार्यो राप्रपा

आइतबार, १४ साउन, २०८०,

काठमाडौं,

कोशी प्रदेशको सरकार निर्माणका लागि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका छन् ।

सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्दै संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङलेले चार दिन (१६ गते अपराह्न ५ बजेसम्म) को समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेपछि गठबन्धनले राप्रपा सँग छलफल अगाडि बढाएको हो ।

अहिलेसम्म सत्ता गठबन्धन र एमाले दुबै पक्षसँग बहुमत छैन । सत्ता गठबन्धनको सबभन्दा ठूलो दल कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)का एक प्रदेशसभा सदस्य छन् ।

माओवादीबाट निर्वाचित सभामुख बाबुराम गौतमलाई राजीनामा गराउनुपर्ने मत पनि गठबन्धनमा छ तर गौतम तयार देखिएका छैनन् । साथै राप्रपालाई सरकारमै ल्याउने गरी पनि छलफल भइरहेको माओवादी केन्द्रका एक नेताले बताए । उनले भने, ‘राप्रपासँग छलफल भइरहेको छ, तर अहिले कुनै निर्णयमा पुगिसकेका छैनौं ।’

शुक्रबार माओवादी केन्द्र र कांग्रेसको बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा विहान भएको छलफलले आइतबार विहान ९ बजे बस्ने बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई बोलाउने निर्णय गरेको छ ।

शनिबार नै कोशीका नेताहरुको बैठक पनि बसेको थियो । एक नेताका अनुसार बहमुत नजुटाई सरकारमा दाबी गरेका कारण दुर्घटना भएको निष्कर्षमा पुगेका नेताहरुले अब प्रष्ट बहुमत पु¥याएर मात्र मुख्यमन्त्रीमा दाबी गर्ने सहमति भएको छ ।