शनिबार, १६ असार, २०८०,
काठमाडौं,
पूर्वमाओवादी शक्तिहरूबीच एकताको ठोस पहल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
शनिबार बिहान पोखरामा पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एकताका लागि पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले पार्टी कमजोर हुँदा अहिलेसम्मका परिवर्तन नै कमजोर हुने महशुस गर्दै पूर्वमाओवादीहरूबीचको एकताबारेको छलफललाई बृहत् पारिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको र त्यसलाई सफा नगरी देश नबन्ने बताए । ‘देश निर्माणका लागि फेरि नयाँ फड्को जरूरी छ । सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ । यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ। सरकार यसमा दृढ छ,’ उनले भने ।
उनले नवगठित समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने पनि बताए । यसमा पूर्वमाओवादीहरू पनि छलफलमा रहेको र पार्टी एकताकै लागि ठोस पहल अगाडि बढाइने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले पार्टीको विशेष महाधिवेशन गर्ने तयारीमा रहेको पनि बताए । यसले पार्टी पुननिर्माण हुने र सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माण, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई संगसंगै लैजानुपर्ने उनले बताए ।