अराजकतावादी दार्शनिक मिखाइल बाकुनिनका अनुसार मार्क्सवादभित्र सर्वसत्तावादको बिउ छ
सन् १९१७ मा लेनिनको नेतृत्वमा रूसमा समाजवादी कहलिएको क्रान्ति भयो । अक्टोबर क्रान्ति भनिए पनि उक्त क्रान्ति नयाँ क्यालेन्डरको नोभेम्बर ७ मा पर्छ । विद्यमान विश्व परिवेशमा उक्त दिनको नाम र मिति बीचको दोसाँधभन्दा घटनासम्बन्धी फरक विषयमाथि चर्चा-परिचर्चा जारी छ । विश्वस्तरको यो बहस, उक्त राजनीतिक घटनाक्रमलाई ‘क्रान्ति’ मान्ने या ‘कु’ भन्नेबारे हो ।
त्यसवेला लेनिनले जे गरे त्यो क्रान्ति थियो भन्ने पक्षमा एउटा ठूलो समूह छ । अर्कोतिर युक्रेनी इतिहासकार सेर्हिइ प्लोखीजस्ता व्यक्ति छन् । जो उक्त घटनाक्रमलाई ‘कु’ थियो भन्ने दाबी गर्छन् । विख्यात् भाषाविद् एवं दार्शनिक नोम चोम्स्कीको मत झन् भिन्न छ । उनले आफ्नो पुस्तक फर रिजन्स अफ स्टेट्स’मा ‘बोल्सेभिकवादलाई व्यवहारमा मार्क्सवाद भन्नु नै गलत’ भन्ने तर्क राखेका छन् । अर्को पुस्तक ‘द कमन गुडमा उनै चोम्स्कीले ‘लेनिनवाद धेरै हदमा उग्र दक्षिणपन्थी चिन्तन हो लेखेका छन् । यसरी अन्य यस्तै घटना परिघटनालाई लिएर विश्वमा अनेकन् ध्रुव देखिँदै आएका छन् । बम बोल्सेभिकवाद सर्वसत्तावादी चिन्तनको उपज हो भन्दै गर्दा मार्क्सवाद आफैँचाहिँ कस्तो हो भन्ने विषयमा पनि ख्याल राख्नु आवश्यक छ । अराजकतावादी दार्शनिक मिखाइल बाकुनिनले कार्ल मार्क्सलाई लगाएको आरोपमध्ये एक मार्क्सवादभित्र सर्वसत्तावादको बिउ छ भन्ने हो । सोही कारण बाकुनिनले खुलेर उद्घोष गरेका थिए, म स्वतन्त्रतासँग पागलझैँ प्रेममा छु । तसर्थ म कम्युनिस्ट होइन, कलेक्टिभिस्ट हुँ। उनी मार्क्सवादबाट पर भाग्नु नै उनले मार्क्सवादमा सर्वसत्तावादी चिन्तन रहेको संकेत गर्नु हो ।
अझ संशोधनवादका पिता मानिएका एडवर्ड बर्नस्टाइनले भनेका छन्, बोल्सेभिकले मार्क्सलाई आफ्नो दाबी गर्दा केही नराम्रो छैन । तपाईंलाई थाहा छ ? मार्क्सवादमा उग्र बोल्सेभिकवादको बिउ थियो ।’ उनको यो वाक्यलाई आधार मान्दा मार्क्सवादभित्र स्वयं बोल्सेभिकको झैँ व्यक्तिगत स्वतन्त्रताको स्थान सुषुप्त छ कि भन्ने गन्ध आउँछ । यद्यपि, मार्क्स / एंगेल्सको कम्युनिस्ट घोषणपत्रमा प्रस्ट भनिएको छ, ‘हरेकको स्वतन्त्र विकास नै सबैको स्वतन्त्र विकासको आधार हो ।
थप रोचक त के छ भने, बाकुनिनले मार्क्सलाई सर्वसत्तावादीको उपमा दिँदै गर्दा उनी स्वयं भने सर्वसत्तावादको कित्तामा नजानिँदो तरिकाले ढल्किएका थिए ।
मार्क्सले ‘–याडिकल इन्टिलिजेन्सिया’को अवधारणा अघि सार्दा उक्त इन्टिलिजेन्सिया रेड ब्युरोक्रेसीमा पान्तरित हुन्छ भन्ने बाकुनिनले कामको आधारमा ज्याला र अन्य सेवा-सुविधा हुनुपर्ने तर्क गरे भनेर डेभिड प्रिस्टल्यान्डले बाकुनिनको आलोचना गरेका छन् । बाकुनिनको सो चिन्तन ज्यालादारी दासत्वको नयाँ प्रापभन्दा कुनै अत्युक्ति नहोला । साथै समाजवादी खेमामा मार्क्सले भन्दै आएको क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दाम भन्ने पद्धतिबाट उनी धेरै पर भागेका छन् । बाकुनिनको उÛष नै थियो, ‘समाजमा अर्काको श्रममा निर्भर हुनेलाई परजीवीसरह व्यवहार गरिनुपर्छ । अझ अराजकतावादी ( एनार्किस्ट) दार्शनिक बाकुनिन भन्थे पदको फरक-फरक स्थान (हाइरार्की) मा आधारित पार्टीले समाजलाई गोप्य रूपमा चलाउनुपर्छ ।
यसो भयो भने मात्र समाजले अराजकतावादको यात्रा तय गर्नेवाला छ । अर्थात् उनको सोचअनुसार वर्तमान विश्वमा शासकले आमजनजीवनमा जसरी निगरानी गर्दै छन्, त्यो सब जायज छ । मार्क्स वा बाकुनिनभन्दा अघिका जर्मन दार्शनिक विल्हेल्म भोन हम्बोल्टले उनको किताब ‘द लिमिट्स अफ स्टेट एक्सन’मा राज्यले गर्ने क्रियाकलाप धेरै नै सीमित हुनुपर्ने तर्क अघि सारेका छन् ।
उनको राय छ, मानवले तब मात्र आफूलाई पूर्ण रुपले विकास गर्न सक्छ, जतिवेला ऊ पूर्ण रूपले स्वतन्त्र हुन्छ । उनको राय हो, राज्यको भूमिका केवल एउटा व्यक्तिले अर्को व्यक्तिलाई हानि पु-याउनबाट रोक्नु हो ।’ यद्यपि, अर्का अराजकतावादी चिन्तक रूडोल्फ रकरले मार्क्सलाई खुलेरै आलोचना गरेका छन् । उनले आफ्नो किताब ‘नेसनालिजम एन्ड कल्चरमा मार्क्सको आलोचना गर्दै लेखे, ‘मार्क्सले पुँजीवादको राम्रो व्याख्या त गरे, तर उनमा पियरे जोसेफ प्रूढोनको जस्तो रचनात्मकता थिएन । मार्क्सले भनेझैँ पुँजीवादी समाज त्यसरी बदलिन सक्दैन भन्ने उनको ठहर थियो । सर्वहारा अधिनायकत्वमाथि रकरको टिप्पणी थियो, ‘इतिहासले मार्क्सले भनेको जस्तो परिवर्तन कहिल्यै जानेन ।’
अनेकौं भेद र मतभेदबीच रूसमा जारतन्त्रलाई परास्त गर्दै सन् १९१७ मा फेब्रूअरी क्रान्ति सफल भयो । त्यसैले सयौँ वर्ष पुरानो जारतन्त्रलाई उखेल्ने यो क्रान्ति रूसी जनताका लागि ठूलो सफलता थियो । सोही क्रान्तिसँगै स्थापित रूसी अन्तरिम सरकारले प्रजातान्त्रिक बाटो लिन थालेको विचार राख्ने इतिहासकार आज पनि बेग्रेल्ती छन् । मजदुरहरुले स्वतन्त्र तरिकाले उद्योगलाई आफ्नो मातहतमा ल्याउन सक्नु, स्वतन्त्र ढंगले किसानले सामूहिक खेती तर्फ लाग्नुजस्ता प्रजातान्त्रिक पद्धति रूसी समाजमा आउनु फेब्रूअरी क्रान्तिको योगदान हो भन्ने ठहर फ्रेन्च स्वतन्त्रतावादी मार्क्सवादी ड्यानियल गुरिनले आफ्नो किताब एनार्किजम’मा गरेका छन् ।
जर्जी लोभोभ र अलेक्जेन्डर केरेन्स्कीको दुईजनाले गरी जम्मा आठ महिना नेतृत्व गर्दा अन्तरिम सरकारमार्फत प्रजातन्त्रको प्रत्याभूति गराए, जसलाई ती सरकारको सबल पक्ष मानिन्छ । यसमा नोम चोम्स्कीको प्रस्ट स्वीकारोक्ति रहेको छ । यी तमाम प्रगतिका बीच पनि उक्त सरकार तीन कुरामा असफल रहन गयो भन्ने मत राख्छन् सोभियतविद् आर्ची ब्राउन । उनले पुस्तक ‘द राइज एन्ड फल अफ कम्युनिजममा ती असफलताबारे लेखेका छन् ।
पहिलो, उक्त अन्तरिम सरकारले पहिलो विश्वयुद्धमा रूसको सहभागितालाई निरन्तरता दियो । दोस्रो, अन्तरिम सरकार अन्य निजी सेना निस्तेज पार्न असफल रह्यो । तेस्रो, कृषियोग्य भूमिसँग सम्बन्धित समस्यालाई हल गर्न असफल रह्यो । यिनै विविध समस्याबाट गाँजिदै आएको प्रजातान्त्रिक’ सरकारलाई सानो, तर निकै संगठित बल बोल्सेभिकले अन्ततः सोही वर्षको अक्टोबर २५ (नयाँ क्यालेन्डरअनुसार नोभेम्बर ७) मा परास्त गर्दै आफ्नो एकल पार्टी शासन स्थापित गर्न सफल भयो ।
अक्टोबर क्रान्तिमाथि कटाक्ष गर्दै नोम चोम्स्की ‘अन्डरस्ट्यान्डिङ पावर’ नामक किताबमा लेख्छन्, ‘लेनिन र ट्रोट्स्कीले फ्रेब्रूअरी क्रान्तिको बलमा प्राप्त सबै उपलब्धिलाई ध्वस्त बनाए । बोल्सेभिकले उद्योगको स्वतन्त्र परिषद् ध्वस्त बनाए, चुनिएका सोभियतलाई बेवास्ता गरे र निर्वाचित संविधानसभालाई भंग गरेर ज्याला र नाफासहितको आदेशमा चल्ने अर्थ व्यवस्था ( कमान्ड इकोनोमी) को निर्माण गरे । उनी थप्छन्, ‘समाजवादतर्फको यात्राका सबै पहलकदमी कार्य लेनिन र ट्रोट्स्कीका विजयसँगै विलुप्त हुन पुगे ।
रूसी अराजकतावादी नेता भोलिनले रूसमा अक्टोबर क्रान्तिको पूर्वसन्ध्यामै उद्घोष गरेका थिए, ‘रूसी मोडलले जनताको शोषण गर्ने राज्य पुँजीवादको बाटो तय गर्नेवाला छ । यो सबैभन्दा खराब प्रकारको पुँजीवाद हुनेछ, जसले मानव जातिको समाजवादतर्फको यात्रामा कुनै टेवा पु-याउँदैन । फ्रेडेरिक एंगेल्सले उनको किताब ‘सोसलिजमः युटोपियन एन्ड साइन्टिफिक’मा भनेका छन्, ‘उत्पादक शक्तिमा राज्यको स्वामित्व द्वन्द्वको समाधान होइन, तर यसैभित्र औपचारिक साधन लुकेको छ । सोभियत परि दृश्यलाई सुरूवातदेखि पतनसम्म हेर्दा उत्पादनका सम्पूर्ण साधन राज्यले आफूमातहतमा राखेर केन्द्रीकृत शासन पद्धतिबाट अर्थव्यवस्था सञ्चालन गरेको थियो । जसमा सर्वसाधरणको निर्णय प्रक्रियामा खासै भूमिका रहेन ।
यसले गर्दा राज्यनिहित उद्योगले स्वतः सर्वसाधारणको अपनत्व नपाएको संकेत गर्छ । यस्तै, व्यवस्थालाई सोभियत संस्थापनले समाजवादको उपमा भिराएको थियो । ‘वार कम्युनिजमको नाममा बोल्सेभिकको विजयसँगै उत्पादनका सबै माध्यमलाई केन्द्रीकृत राज्य प्रणालीको मातहतमा ल्याउँदा चौतर्फी विरोध र विद्रोह नै भएको थियो ।
उक्त अवस्थालाई मध्यनजर गर्दै लेनिनले १९२१ मा नयाँ आर्थिक नीति (न्यु इकोनोमिक पोलिसी) ल्याएका थिए, जसमा निजी स्वामित्वलाई पनि केही स्थान दिइएको थियो । खुला भनिएका बजार प्रायः समाजवादी भनिएका सबै देशमा मासिएका उदाहरण प्रशस्त भेटिन्छन् । सन् १९६० को दशकमा भने
खुला भनिएको बजारको अपरिहार्यतालाई महसुस गर्दै हंगेरीमा गोउल्यास कम्युनिजम सुरूवात गरियो, जहाँ राज्य हस्तक्षेपलाई घटाएर बजारलाई केही हदसम्म स्वतन्त्र छाडियो ।
संसारमा व्याप्त राजनीतिक अध्ययनले राज्यको उदयका तीन सिद्धान्तको कुरा गर्छ, दैविक सिद्धान्त (जुन अहिले औचित्यहीन छ ), सामाजिक करार सिद्धान्त (सोसल कन्ट्रयाक्ट थेअरी) र बल सिद्धान्त । सबै मार्क्सवादी चिन्तक र नेताले मान्दै आएको सिद्धान्त बलको हो । बल सिद्धान्तलाई सामान्य रूपमा भन्दा शक्तिशालीले कमजोरलाई दमन गर्दै आफ्नो वर्चस्व कायम गर्छ । त्यही वर्चस्वले समयक्रममा आफूलाई अझ बढाउँदै राज्यको रूप लिन्छ । लेनिनले उनको सानो किताब ‘द स्टेट’मा राज्य र राज्य संयन्त्रलाई दानवीकरण गर्न हरसम्भव प्रयत्न गरेका छन् । उनले राज्यको औचित्यलाई नै प्रश्न गर्दै राज्य चरित्रलाई बडो घतलाग्दो प्रहार गरेका छन् । तथापि, उनको अक्टोबरको विजयसँगै स्थितिले अन्यत्रै मोड लियो ।
राज्य निकायलाई दमनकारी चरित्र मान्ने लेनिनले अन्ततः सन् १९१८ मा चेका अर्थात् गोप्य प्रहरी स्थापना गरी जनजीवनमा निगरानी बढाए । उनको तर्क थियो, प्रतिक्रान्तिकारी श्वेतहरुलाई निस्तेज पार्न यस्तो क्रियाकलाप आवश्यक थियो । अझ फेनी कप्लानले सोही वर्ष उनी (लेनिन ) लाई गोली ठोकेपछि उनले विरोधी तप्कालाई पाखा लागाउन कुनै कसर बाँकी राखेनन् ।
प्रतिबन्धको राजनीति चल्दै गर्दा सन् १९२१ मा गएर उनले मेन्सेभिक र सोसल डेमोक्रेट्ससम्मलाई प्रतिबन्ध लगाए । यद्यपि, उक्त प्रतिबन्धमाथि लियोन ट्रोट्स्कीले उनको किताब ‘द रिभोल्युसन बिट्रेडमा टिप्पणी गर्छन्, ‘त्यो प्रतिबन्ध गृहयुद्ध, नाकाबन्दी, हस्तक्षेप, भोकमरीसँग जुध्ने अस्थायी उपाय थियो ।’ यसको आशय हुन्थ्यो, सबै समस्या हल भएपछि राज्य बहुदलीय व्यवस्थामा जाने थियो । तर, विडम्बना, सोभियत संघको अस्तित्व रहुन्जेल त्यो कहिल्यै सम्भव भएन । यसको सम्भावित कारण जोसेफ स्टालिनलाई पनि मान्न सकिन्छ ।
लेनिनको अस्वस्थतासँगै नेतृत्वमा उदाएका स्टालिन पार्टीभित्रैका पनि विरोधी विचार सहँदैनथे भने विपक्षी दलको अस्तित्व स्विकार्नु त झनै सम्भव थिएन । जिनोभिएभ कामेनेभ, ट्रोट्स्कीलगायत शक्तिशाली हस्तीलाई पालैपालो हत्या गरेर शक्तिको उत्कर्षमा पुगेका उनले अन्य दललाई स्विकार्ने कल्पनासम्म गर्न सकिन्न । लेनिनले समेत आफ्नो जीवनको उत्तरार्द्धमा स्टालिनको कार्यशैलीको निन्दा गरेका थिए । लेनिनको पुस्तक ‘स्टेट एन्ड रिभोल्युसनमा उनले ठहर गरेका छन्, ‘सर्वहारालाई प्रतिक्रान्तिकारी र आक्रमणबाट जोगाउन र समाजवादतर्फको यात्रा तय गर्न राज्यको केन्द्रीकृत शक्ति चाहिन्छ । सायद यो कुरालाई खण्डन गर्न रूडल्फ रकरको शब्द सापटी लिँदा अत्युक्ति नहोला, ‘इतिहासले त्यस्तो परिवर्तन कहिल्यै जानेन ।
बोल्सेभिकले सन् १९२१ मा लगाएको अराजकतावादी र मेन्सेभिकको पत्रिकामाथिको प्रतिबन्धलाई लिएर म्याक्सिम गोर्कीले समेत आलोचना गरेका थिए । तथापि, भिक्टर सेर्जको ठम्याइ छ कि, तत्कालीन परिवेशमा सर्वहाराको अधिनायकत्व भनेको पार्टीको अधिनायकत्व थिएन । शाब्दिक रूपमा लेनिनले जनवादी केन्द्रियताको पक्षपोषण गरेता पनि उनको व्यवहारमा सर्वसत्तावादी चिन्तन व्याप्त देखिन्छ ।
समाजशास्त्री सी राइट मिल्सले लेखेको किताब ‘द मार्क्सिस्टस्मा उनको तर्क छ कि, जड स्वरूपमा मार्क्सवाद जहाँ लागू हुन्छ, त्यस्तोलाई हेरेर बोल्सेभिकवादलाई व्यवहारमा मार्क्सवाद भन्नु गलत हुन्छ । उनको भनाइ छ, ‘समग्रमा बोल्सेभिक चिन्तन फरक किसिमको हो र त्यसको छुट्टै राजनीतिक झुकाव रहेको थियो । यसका दुई प्रमुख कारण उनले औँल्याएका छन् ।
पहिलो, समाजवादी क्रान्ति त्यहाँ भयो, जहाँ समाज निकै पिछडिएको थियो र पुँजीवादको विकास कमजोर थियो । यो मार्क्सको मान्यताभन्दा फरक थियो । दोस्रो, एउटा पूर्ण अनुशासित पार्टीको क्याडरले सर्वहारावर्गलाई विस्थापित गरेको अवस्था थियो ।
यिनै विभिन्न तर्क-वितर्क हुँदै गर्दा सोभियत अर्थ व्यवस्थाले सन् १९६० को दशकमा भने केही चमत्कार नै गरेको मान्नुपर्छ । नोबेल पुरस्कार पाएका अर्थशास्त्री पउल स्याम्युल्सनले सन् १९६१ मा घोषणा नै गरेका थिए, सोभियत अर्थ व्यवस्थाले सबैलाई पछि पार्नेछ र सन् १९९७ मा अमेरिकी अर्थव्यवस्थालाई पनि पछि पार्नेछ । दुर्भाग्यवश सोभियत संघको अस्तित्व सन् १९९१ भन्दा अघि बढेन ।
सन् २०१२ मा एलन क्रुगरले ‘द ग्रेट ग्याट्स्बी कर्भ को आविष्कार गरे । सो कर्भका अनुसार आर्थिक समानता र सामाजिक मुभिलिटीको प्रत्यक्ष सम्बन्ध रहन्छ । अर्थात्, सामाजिक असमानता जहाँ थोरै हुन्छ, त्यहाँ सामाजिक मोबिलिटी धेरै हुने गर्छ । अर्थशास्त्रको सामान्य नियमले भन्छ, सोसियल मोबिलिटी ( सामाजिक गतिशीलता) को अर्थवृद्धिसँग प्रत्यक्ष सरोकार रहन्छ । सोही कर्भका आधारमा तात्कालीन सोभियत अर्थतन्त्रको मूल्यांकन गर्दा दुई कुराले भूमिका खेलेको हुनुपर्छ ।
पहिलो, कमान्ड अर्थतन्त्र भएकाले सामाजिक गतिशीलता स्वतः राज्यको निर्देशनमा बढ्ने भयो । दोस्रो, समाजवादी भनिएकाले समाजमा आयआर्जनको अन्तर त्यति ठूलो नहुने भयो । सोभियत अर्थतन्त्रका बारेमा त्यस्तो तर्क हुँदै गर्दा सोभियत बजारमा दैनिकउपभोग्य वस्तुको सधैं अभाव रहेको तथ्य पनि बिर्सनुहुँदैन ।
मिखायल गोर्बाचेभको जीवनी ‘गोर्बाचेभ’मा विलियम टबम्यान लेख्छन् कि गोर्वाचेभको पालामा आइपुग्दा दैनिक उपभोग्य वस्तुको संख्या नौ सय ८९ थियो । यसको ११ प्रतिशत वस्तु मात्रै सोभियत बजारमा सहज उपलब्ध थिए । त्यस्तै अभावमाथि संकेत गर्दै गोर्बाचेभका आर्थिक सल्लाहकार निकोलाई पेत्राकोभले एउटा व्यंग्य सुनाउने गर्थे, ‘खुला बजारमा वस्तुबीच प्रतिस्पर्धा हुन्छ उपभोक्ताका लागि, तर हाम्रोमा उपभोक्ताबीच प्रतिस्पर्धा हुन्छ वस्तुका लागि ।
कार्ल पोल्यनी उनको किताब ‘द ग्रेट ट्रान्सफर्मेसन’मा भन्छन् कि खुला बजार भन्नु पागलपन हो । त्यस्तै, जोसेफ स्टिग्लिजले पनि राज्यले बजारमा हस्तक्षेप गर्नुपर्ने उनको किताब ‘ग्लोबलाइजेसन एन्ड इट्स डिस्कन्टेन्समा राय व्यक्त गर्छन् । तर, त्यसको अर्थ सोभियतकालको जस्तो बजार निर्माण गर्न खोज्नु भने पक्कै होइन । मूल्य नियन्त्रणमा राज्यले हस्तक्षेप गर्दै बजारलाई स्वतस्फूर्त चल्न दिनुपर्ने दुवै अर्थशास्त्रीको राय छ । राज्य हस्तक्षेप ज्यादा हुँदा कालोबजारी बढ्ने र वस्तुको अभाव रहने अहिलेसम्मको आर्थिक अभ्यासले देखाउँछ ।
इमानुयल कान्टको शब्द सापटी लिँदा साधन र साध्य फरक कुरा हुन् । सन् १९१७ को अक्टोबरमा भएको त्यो घटनाक्रम ‘क्रान्ति’ वा ‘कु’ भनेर ठम्याउनुभन्दा पनि यसलाई साधनको रुपमा हेर्दा अझ प्रस्ट तस्बिर आउला । क्रान्तिपछिको चरणमा समाज र नागरिकले कस्तो परिवेश पाए र कस्तो किसिमको जीवन यापन गर्न पाए भन्ने कुराले पनि त्यो घटनाक्रम क्रान्ति थियो वा कु भन्ने मूल्यांकनमा प्रभाव पार्छ ।
नोम चोम्स्कीले भनेका छन्, ‘कुले सीमित व्यक्तिलाई फाइदा पु-याउँछ भने क्रान्तिले समाजमा आमूल परिवर्तन ल्याउँछ । सोभियत समाजवादी मोडेल भनिए पनि युद्ध र आणविक हतियारको होडबाजीमा रमेको सोभियत संघ अमेरिकी मोडेलभन्दा पर गएन भन्न सकिन्छ । लेनिनले ‘साम्राज्यवाद भनेको मर्न लागेको पुँजीवाद हो’ भन्दै गर्दा सोभियत संघले अफगानिस्थानमा गरेको हस्तक्षेप पक्कै पनि अमेरिकी शैलीभन्दा फरक थिएन । मिखाइल गोर्बाचेभले ल्याएका पेरेस्त्रोइका, उस्कोरेनिये, गोस्प्रियोम्का र ग्लास्नोस्टजस्ता सुधारवादी नीतिले सोभियत युनियनलाई पतन गरायो भने हामीले यो बुझ्नुपर्छ कि सोभियत संघको जग कस्तो थियो ? क्रान्ति र कुको अन्तर यिनै साना मानिएका घटना र परिघटनाले स्पष्ट पार्छन् ।
अन्त्यमा सोभियतकालीन एउटा जोक यस्तो छ । पार्टीको एउटा प्रशिक्षण चल्दै गर्दा प्रशिक्षक कामरेड भन्छन्, ‘त कामरेडहरु हामी यस्तै तरिकाले अघि बढ्दै गयाँ भने हाम्रो साम्यवाद त्यहीँ परको क्षितिजमा देखिन्छ । त्यहाँ सहभागी अर्का कामरेड उठेर प्रश्न गर्छन्, ‘कामरेड क्षितिज भनेको के हो ? प्रशिक्षक बोल्छन्, ‘क्षितिज पृथ्वी र आकाश जोडिएको जस्तो देखिने ठाउँ हो । तर, यथार्थमा यी कहिल्यै जोडिएका हुँदैनन् । तब प्रश्नकर्ता कामरेडले प्रतिक्रियामा बोल्छन्, बल्ल हजुरले भनेको कुरा बुझ कामरेड ।
नयाँशिरा अर्ध वार्षिक जर्नलबाट साभार गरिएको हो ।