बाग्मति प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनको भाडा मुल्य घट्यो

60Shares
बाग्मति प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनको भाडा मुल्य घट्यो

बुधबार, १० साउन, २०८०,

काठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा आजबाट घटेको छ ।

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि घटेको हो । बागमती प्रदेश सरकारले आजैदेखि लागू हुने गरेर सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो ।

श्रम रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलका अनुसार आजदेखि लागू हुने गरेर प्रदेशभित्र चल्ने लामोदूरीका यात्रुबाहक सवारी साधनको भाडादर २.३० प्रतिशतले घटेको छ ।

यस्तै, प्रदेश भित्र चल्ने (लामो–छोटो दूरी) मालबाहक सवारी साधनको भाडादर ३.१८ प्रतिशतले घटेको छ । यसका साथै, प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको छ ।

विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि पछिल्लो समय नेपाल आयल निगमले समेत मूल्य समायोजन गर्दै आइरहेको छ । पछिल्लो पटक निगमले १५ दिनको अवधिमै पेट्रोलियम पदार्थको मूल्य दुई पटक समायोजन गरिसकेको छ । यस्तै, निगमले अबदेखि स्वचालित मूल्य प्रणाली लागू गर्ने घोषणा समेत गरिसकेको छ ।

पेट्रोलियम पदार्थको मूल्य घटेपछि चौतर्फीरुपमा सार्वजनिक सवारी साधनको भाडादर घटाउन प्रदेश सरकारलाई दबाब परेको थियो ।