२०८१ असार ७ काठमाडौ ।
सरकारले सिंहदरबारमा बनाइरहेको संघीय संसद भवनको ८१ प्रतिशत भौतिक प्रगति भएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको विशेष भवन निर्माण आयोजनाका निर्देशक मचाकाजी महर्जनले नयाँ संसद भवनको भौतिक प्रगति ८१ प्रतिशत र वित्तिय प्रगति ६७ प्रतिशत रहेको जानकारी दिनुभयो । उहाले आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्न मिल्ने गरि निर्माण कार्यलाई तीव्र रुपमा अघि बढाएको बताउनुभयो । नयाँ संसद भवन परिसरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका साथै पुस्तकालय तथा अतिबिशिष्ठ कक्ष निर्माणको संरचनात्मक काम सकिएको उहाले बताउनुभयो । उहाले भवनको छत हाल्ने र आन्तरिक सजावटका महत्वपूर्ण काम बाँकी रहेको जानकारी दिनुभयो ।
त्यस्तै उहाले सिंहदरबारमा रहेका पुरानो संसद भवनको संरक्षणका लागि पनि काम भइरहेको बताउनुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गर्नुभएको थियो । तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ ।