अस्पतालको बेडमै नागरिकता प्रदान !

57Shares
अस्पतालको बेडमै नागरिकता प्रदान !

२१ जेठ स्याङ्जा । स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका वडा नं ५ का विमल शर्माको अस्पतालमै पुगेर नागरिकता दिइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत संयोग भट्टराई र सुब्बा रामप्रसाद पौडेलबाट अस्पतालको बेडमै पुगेर निजलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।उनी जेठ ८ गते घाँस झार्ने क्रममा अचानक रुखबाट खसी घाइते भएका थिए । मेरुदण्ड भाँचिएर पोखराको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप प्रालि पोखरामा भर्ना भई उपचार गरिरहेका शर्मालाई तत्काल नागरिकता आवश्यक परेको थियो । नागरिकता नहुँदा उनले अस्पतालबाट उपचारका क्रममा पाउने सेवा सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था थियो ।मेरुदण्ड भाँचिएकाले चिकित्सकहरुले शर्मालाई हिँडाउन नमिल्ने राय दिए पछि उनलाई जिल्ला प्रशासन कार्यालयमा भौतिक रुपमा उपस्थित गराउन नसकिने भएकाले अस्पतालको बेडमै पुगेर जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नागरिकता प्रदान गरेको हो ।नागरिकता प्रदान गर्दै प्रशासकीय अधिकृत संयोग भट्टराईले नागरिकको दुःखमा साथ दिने प्रयास मात्र गरेको बताउँदै घाइतेलाई तत्काल नागरिकता चाहिएको विशेष परिस्थितिका कारण अस्पतालमै पुगेर नागरिकता प्रदान गरिएको बताउनुभयो ।