१८ जेठ काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीको आरोप खेप्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी काण्डमा कारबाही सिफारिसमा परेका सहसचिव अरुण पोखरेललाई नवलपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी सीडीओ बनाएका छन् ।सुन तस्करीविरुद्ध गठित छानबिन आयोगले कारबाहीको सिफारिस गरेका विवादित सहसचिव पोखरेललाई लामिछानेले पुरस्कृत गरेर सीडीओ बनाएका हुन् । पोखरेललाई कारबाही गर्नुको साटो सीडीओ बनाएर सरुवा गरेपछि सुशासनका कुरा गर्ने गृहमन्त्री लामिछानेको अनुहार उदाङ्गो भएको छ ।गृह मन्त्रालयले बुधबार १६ सीडीओसहित २५ सहसचिवको सरुवा गरेको छ । सरुवाको सूचीअनुसार सुन तस्करी छानबिन आयोगले कारबाही गर्न सिफारिस गरेका सहसचिव पोखरेललाई गृहमन्त्री लामिछानेले सीडीओ बनाएपछि गृह मन्त्रालयभित्र खैलाबैला भएको छ ।गृहको एउटा विभागमा कार्यरत कर्मचारीलाई जिल्लाको बागडोरको जिम्मेवारी दिएर पठाएका गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणमा कर्मचारीलाई बचाउन लागेका छन् ।सुन तस्करीको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरूलाई कारबाहीको दायरामा भन्दै जिम्मेवारीबिहीन बनाइरहँदा गृहमन्त्री लामिछानेले सहसचिव पोखरेललाई भने पुरस्कृत गरिरहेका छन् ।