१४ जेठ ढाका । बंगलादेशमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या कम्तीमा १० पुगेको छ भने ३० हजारभन्दा बढी घर भत्किएका वा पूर्ण रूपमा क्षतिग्रस्त बनेका अधिकारीले बताएका छन् । आँधीले दशौँ हजार घरमा आंशिक क्षति पुर्याएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् ।बरिसाल जिल्लाका सरकारी प्रशासक शौकत अलीले भने, “अधिकांशको मृत्यु ढलेको घर वा पर्खाल भत्किँदा भएको थियो । तीनजनाको छिमेकी जिल्लामा डुबेर मृत्यु भएको छ ।”आइतबार राति ‘रेमाल’ नाम दिइएको चक्रवातले तटीय क्षेत्रमा भीषण आँधीबेहरी र छालहरू ल्याएको थियो ।सोमबार दिउँसोसम्म यो कमजोर भए पनि हावाहुरी र वर्षाले तटीय क्षेत्रमा अझै असर पारेको छ । “चक्रवातका कारण भारी वर्षा भइरहेको छ र हावाको गति पनि उच्च छ,” अलीले भने ।