११ जेठ काठमान्डौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विरोधमा सर्वत्र आलोचना भइरहेका बेला जिल्ला अदालत धनुषाले सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले अध्यक्ष सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न आइतबार सम्मका लागि हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय धनुषालाई अनुमति दिएको हो ।कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियाका नाममा जारी नागरिकता नम्बर अर्का व्यक्तिसँग मिलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश सदस्य इन्द्रजितप्रसाद महतोले धनुषा प्रहरीमा जाहेरी दिएका थिए । त्यसकै आधारमा हतियारसहित आएको प्रहरीले सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयको कार्यकक्षबाटै पक्राउ गरी राति धनुषा ल्याएको थियो । त्यसपछि बुधबार जिल्ला सरकारी वकिल कार्यालयले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतसमक्ष अनुमति मागेकोमा अदालतले ३ दिनको समय दिएको थियो ।