१० जेठ काठमाडौं । सञ्चार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रका तीन छाता संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सिरोहियाको पक्राउप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही कारबाहीको भागिदार हुनुपर्छ भन्दै यसरी धरपकड गर्न नहुने उनीहरूको भनाइ छ ।कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्नेजस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्नेतर्फ हामी ध्यानाकर्षण गराउन चाहन्छौँ । कुनै पनि व्यवसायीको मानमर्दन गरेर उनीहरूलाई हतोत्साही गरेर लगानीको वातावरण नबन्ने पनि व्यवसायीको भनाइ छ । अहिले देशभित्रका सानादेखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ । उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नुपर्नेमा पनि जोड दिइएको छ । देशभित्र व्यवसायिक वातावरण खल्बलाउने काम कहीँ कतैबाट पनि नहोस् भन्नेतर्फ निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराएको छ ।