२ जेठ काठमान्डौ । बलात्कार आरोपमा जिल्ला अदालतले दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले निर्दोष ठहर गरेको छ ।बुधबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई बदर गरिदिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।यो फैसला सगै स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले आईसीसी टी २० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ ।आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ ।आईसीसीको नियमअनुसार १५ खेलाडी मात्रै विश्वकपमा राख्न पाइन्छ । त्यसैले एक खेलाडी विश्वकपबाट बाहिर हुनुपर्छ ।