उल्टियाे क्रीकेटर सन्दिपको फैसला

81Shares
उल्टियाे क्रीकेटर सन्दिपको फैसला

०२ जेष्ठ २०८१ काठमाडौं । सन्दिप लामिछानेले उच्च अदालत बाट  सफाइ पाएका छन।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार र बुधबार पनि पक्ष-विपक्षका वकिलहरूले बहस गरेका थिए । जवाफी बहस पनि सकिएपछि न्यायाधीशद्वयले सन्दीपलाई राहत दिने गरी फैसला सुनाएका हुन् ।

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा २०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंले जबर्जस्ती करणी मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।

सफाई पाएसँगै लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने लगभग पक्का भएको छ । आईसीसीको नियम अनुसार विश्वकपमा २५ मे सम्म कुनैपनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छन् । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा ब्यस्त छ ।

बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि सन्दीप लामिछानेले भने ‘पहिलो दिनदेखिनै निर्दोष छु भनेर भनिरहेको छु, अन्ततः यहाँसम्म आइसकेका छौँ। जिल्ला अदालतको फैसला पनि सम्मान गरेकै हुँ, आजको फैसलाको पनि सम्मान नै गर्छु। मलाई साथ दिने सबैप्रति आभारी छु। आगामी दिनमा नेपाललाई जहाँ मैले पुर्‍याएको थिएँ, त्यसभन्दा माथि पुर्‍याउने प्रयत्न गर्ने छु।’

लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएपछि उनका समर्थकहरुले उच्च अदालत पाटन बाहिर बाजागाजा सहित र्याली निकाल्दै खुशियाली मनाएका छन् ।