१३ वैशाख, काठमाडौं । गृहमन्त्रीको आलोचना गरेको भन्दै प्रहरीले एक युवालाई चरम यातना दिएको पाइएको छ । आफ्नो आलोचना गर्ने जोकोहीलाई समातेर १० वर्ष जेलमा कोच्नु भन्ने गृहमन्त्रीको आदेश छ भन्दै प्रहरीले एक युवकलाई दिएको चरम यातना यतिबेला भाइरल भएको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ती युवकलाई अनैतिक ढंगले यातना दिएको भन्दै नेपाल प्रहरी संगठन र गृहमन्त्री रवि लामिछानेको चर्को विरोध भइरहेको छ ।समाचारमा जनाइए अनुसार जाजरकोटको कुशे गाउँपालिका स्थायी घर भएका गणेशमान सिंह ठकुरी प्रहरीको यातनाबाट अहिले अस्पतालमा उपचाररत छन् । उनले प्रहरीकै अगाडि यातना सहन नसकेर आत्महत्याको प्रयास पनि गरेका थिए । तर, प्रहरीले नै उपचारका लागि अस्पताल पुर्याएको छ । सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री रवि लामिछानेको आलोचनात्मक कमेन्ट गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर यातना दिएको र त्यसपछि उनले आत्महत्याको प्रयास गरेको भनिएको छ ।ठकुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरी गृहमन्त्री लामिछानेविरुद्ध किन फेसबुकमा कमेन्ट गरेको भन्दै मानसिक तनाब र यातना दिएको र उनले प्रहरीको काठमाडौंस्थित साइबर ब्यूरोकै ढोकामा विष सेवन गरी आत्महत्या प्रयास गरेको बताइएको छ ।अहिले दाजुलाई आइसीयुमा राखिएको छ । गृहमन्त्रीको आदेश छ–१० वर्ष जेल हाल्छौं भन्दै प्रहरीले धम्क्याउने र यातना दिने काम गरेको थियो । यो घटना सार्वजनिक भएपछि गृहमन्त्री र उनको सचिवालयले अघोषित रूपमा सुरक्षा निकायको दुरूपयोग गरी विचार अभिव्यक्तिमाथि प्रतिबन्ध लगाएर आत्महत्याको बाटो रोज्न बाध्य बनाएको मानबहादुरको आरोप छ ।
लोकसेवा आयोगले लिने परीक्षाको तयारी गरिरहेका ठकुरीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । ठकुरीले सहकारी ठगीको विषयमा गृहमन्त्री लामिछानेको नाम जोडिएपछि उनले प्रष्टीकरण दिनुपर्ने भन्दै कसैले सामाजिक सञ्जालमा गरेको पोस्टमा सहमति जनाउँदै प्रतिक्रिया दिएका थिए । ब्यूरोका प्रहरीले यसै विषयमा ठकुरीलाई तीन दिनअघि पनि कार्यालयमा बोलाएका थिए । दोस्रोपटक ब्यूरोका प्रहरीले बुधबार उनलाई बोलाएर जेलमै सडाउने धम्की दिएको भाइ मानबहादुरले बताए । यता, प्रहरी प्रधान कार्यालयले भने यसबारे केन्द्रमा रिपोर्ट नभएको जनाएको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यो कुरा आएपछि प्रहरीले अनुसन्धान थालेको छ ।